काँटा लगा फेम शेफाली जरीवालाको ४२ वर्षको उमेरमै मृत्यु, अनुसन्धान जारी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
998
Shares
काठमाडौँ । काँटा लगा रिमेक गीतबाट प्रसिद्ध भएकी अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। मिडिया रिपोर्टका अनुसार जुन २७ को राति उनलाई हृदयाघात भएको थियो । जसले गर्दा उनको मृत्यु भएको थियो।
अब मुम्बई प्रहरीले यस मुद्दामा अनुसन्धान सुरु गरेको छ। फोरेन्सिक टोली शेफाली जरीवालाको घर पुगेको छ र प्रमाण सङ्कलन भइरहेको छ। साथै घरकी कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेशनमा सोधपुछ गरिएको छ । परिवारका सदस्यहरूको पनि बयान लिइँदैछ ।
उनले सन् २००२ सालमा काँटा लगा गीत गाएकी थिइन्, जसले उनलाई फरक पहिचान दियो ।
स्रोतका अनुसार शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागीले शुक्रबार राति मुम्बईको अन्धेरीको बेलेभ्यू अस्पतालमा बेहोश अवस्थामा लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।
अस्पतालका स्वागत कर्मचारीले शेफाली जरीवालालाई मृत अवस्थामा अस्पताल ल्याएको पुष्टि गरेका छन् । उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ ।
उनको पहिलो विवाह संगीतकार हरमीत सिंहसँग भएको थियो। शेफाली जरीवालाले २००४ मा मीत ब्रदर्सका संगीतकार हरमीत सिंहसँग विवाह गरेकी थिइन् । दुवैको २००९ मा सम्बन्ध विच्छेद भयो । यसपछि उनले २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन् ।
उनलाई १५ वर्षको उमेरमा छारेरोगको आक्रमण भएको थियो । टाइम्स अफ इन्डियालाई दिइएको एक अन्तर्वार्तामा शेफालीले १५ वर्षको उमेरमा छारेरोगको आक्रमण भएको बताएकी थिइन् । तनाव र चिन्ताको अवस्थामा उनलाई दौरा पर्थ्यो। तर पछि उनले योगा र दैनिक व्यायाम गर्न थालिन्, जसका कारण उनको स्वास्थ्यमा सुधार आउन थाल्यो र छारेरोगको दौरा रोकियो ।
शेफाली जरीवालाले १९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो। यस गीतमा उनको बोल्ड शैली र नृत्य शैलीले मानिसहरूको ध्यान खिच्यो।
यसपछि उनले केही थप संगीत एल्बम र चलचित्रहरूमा काम गरिन् । २००४ मा उनी सलमान खान र अक्षय कुमारको फिल्म ‘मुझसे शादी करोगी’ मा पनि देखा परिन् । यस बाहेक उनी कन्नड फिल्म हुडुगारुमा पनि देखिएकी थिइन् ।
शेफालीले धेरै नृत्य रियालिटी शोहरूमा भाग लिइन्। त्यसै समयमा उनी नच बलियेमा आफ्ना पति पराग त्यागीसँग देखिएकी थिइन्।