नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार बढी, नियन्त्रणमा चुनौती बढ्दै [भिडियो]
पुरुष धेरै
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
740
Shares
काठमाडौं। नेपालमा एचआईभी एड्स संक्रमितको संख्या ३० हजार भन्दा बढी पुगेको सरकारी तथ्यांकले देखाएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले यो जानकारी सार्वजनिक गरेको हो।
केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाका अनुसार, नेपालमा एचआईभी संक्रमण मुख्यतया केही जोखिम समूहमा मात्रै केन्द्रित रहेको छ। यी समूहहरूमा पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागूऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू र आप्रवासी व्यक्तिहरू पर्छन्।
हालको तथ्यांकअनुसार, एचआईभी संक्रमितहरूमा पुरुषको संख्या महिलाभन्दा बढी छ। नेपालमा नयाँ संक्रमणको वार्षिक दर ६ सय १४ रहेको छ भने एड्ससँग सम्बन्धित मृत्युको संख्या ५ सय ६९ रहेको ओझाले बताएकी छिन्। यस्तै, एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ पुगेको छ।
अध्ययनअनुसार, मुख्य जोखिम समूहहरूमा यौन व्यवसायमा संलग्न १ लाख १५ हजार ९ सय १९ जना, पुरुषसँग यौन सम्पर्क गर्ने ७७ हजार ३ सय ४० जना पुरुष, ३२ हजार ८ सय ९५ जना लैङ्गिक अल्पसंख्यक व्यक्ति, २७ हजार ८ सय ३९ जना जेलमा रहेका व्यक्ति र ४४ हजार ३ सय ५० जना लागूऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू समावेश छन्।
विज्ञहरूले एचआईभी नियन्त्रणका लागि नेपालले सन् २०३० भित्र हासिल गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न निकै चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्। यसको मुख्य कारणमा निःशुल्क साधनको अभाव, परीक्षण सेवा विस्तारमा देखिएको सुस्तता र दातृ निकायमा बढ्दो निर्भरतालाई औंल्याइएको छ। सरकारले यी जोखिम समूहहरूमा लक्षित कार्यक्रम र नीतिहरू बनाउनका लागि अध्ययन गरिरहेको जनाएको छ, ताकि एचआईभी नियन्त्रणका लागि नीतिगत र बजेटरी व्यवस्थापनमा सुधार गर्न सकियोस्।