सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
900
Shares
काठमाडौं । नेपाल सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्यसहित २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ। वन तथा वातावरण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार यो अभियान सन् २०२५ देखि सन् २०४५ सम्म चल्ने जानकारी दिएको हो।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पत्रकार सम्मेलनमा बोल्दै नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न यो अभियान सञ्चालन गर्न लागिएको बताए। महाअभियानअन्तर्गत हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गरिनेछ। यसमा मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिने मन्त्री ठकुरीले जानकारी दिए।
यो महाअभियानमा सङ्घीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार, वन क्षेत्रमा क्रियाशील सामुदायिक, साझेदारी तथा निजी वनका महासङ्घ, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालाहरू सहभागी हुनेछन्।
महाअभियानले कार्बन उत्सर्जन न्यूनीकरण र अनुकूलनमा योगदान पुर्याउने, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण गर्ने तथा वातावरणीय पुनर्स्थापना र जैविक विविधता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। यस अभियानले वातावरणीय समृद्धि तथा जलवायु सङ्कट समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।