यस वर्ष औसतभन्दा बढी वर्षा हुने, गण्डकी, लुम्बिनी र कर्णाली बढी प्रभावित हुने
'३०/४० वर्षयताकै धेरै' भन्ने दाबी गलत
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
945
Shares
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ। यद्यपि, केही सञ्चारमाध्यममा आएका '३०/४० वर्षयताकै धेरै पानी पर्छ' भन्ने दाबी सही नभएको विभागले स्पष्ट पारेको छ।
बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विभागका निर्देशक कमलराज जोशीले यो जानकारी गराएका हुन्।
उनका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको उत्तरपूर्वी भाग र कर्णाली प्रदेशको पश्चिम भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। देशका अन्य भूभागमा औसतभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत सम्म छ।
निर्देशक जोशीले नेपालमा वार्षिक औसत वर्षा १४९८.४ मिलिमिटर हुने भए पनि गत वर्ष १६९१.३ मिलिमिटर वर्षा भएको थियो, जुन औसतको ११३ प्रतिशत हो। यस वर्ष गत वर्षभन्दा पनि बढी वर्षा हुने सम्भावना रहेको उनले बताए।
जोशीले जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा बदलिएको जानकारी दिए। पहिले दिनभर मसिनो पानी पर्ने भए पनि अहिले २/३ घण्टामै धेरै ठूलो पानी पर्ने र त्यसपछि २/४ दिन मनसुन 'ब्रेक' भएजस्तो हुने अवस्था रहेको उनले बताए।
अन्ततः, विपद् नहोस् भन्नेमा सावधानी अपनाउनुपर्नेमा उनले जोड दिएका छन्। यस वर्षको बढी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै, सम्भावित विपद्बाट बच्न पूर्वतयारी र सतर्कता अपनाउनु आवश्यक देखिन्छ।