संसदीय समितिद्वारा सरकारलाई मनसुनजन्य विपद् पूर्वतयारीका लागि निर्देशन
विपद् पूर्वसूचनामा एसएमएस भरदपर्दो भएन, फोन गरेरै सूचना दिने प्रवन्ध मिलाउनू
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
1.9k
Shares
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षायाममा आउने बाढी, पहिरो, डुबानजस्ता मौसमजन्य उच्च जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढीकरण गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो महत्त्वपूर्ण निर्णय गरेको हो।
समितिले जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापनमा समन्वय र जनचेतना अभिवृद्धि गर्न स्थानीय र प्रदेश तहसँग सहकार्य गरी प्रभावकारी कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा ल्याउन गृह, रक्षा, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यस्तै, समितिले विगतका वर्षहरूमा भएका विपद्को मूल्याङ्कन गरी सिकाइका आधारमा प्रभावकारी जोखिम नियन्त्रणका उपायहरू लागू गर्न गृह र रक्षा मन्त्रालयलाई निर्देशित गरेको छ।
समिति बैठकले प्राकृतिक विपद्बाट भएको क्षतिको सही पहिचान गरी उद्धार तथा राहत कार्यमा पीडित व्यक्ति प्रत्यक्ष लाभान्वित हुनेगरी कडाइका साथ कार्ययोजना अवलम्बन गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको छ।
विशेषगरी, समितिले विपद्को पूर्वसूचनाका लागि हाल प्रयोग हुँदै आएको एसएमएस प्रणाली भरपर्दो नभएको भन्दै फोनमार्फत बोलेर नै सूचना दिने प्रणाली यही वर्षदेखि लागू गर्न समेत निर्देशन दिएको छ। यसले विपद्को समयमा समुदायमा समयमै र स्पष्ट जानकारी पुग्न मद्दत गर्ने अपेक्षा गरिएको छ।