arrow

बढ्दो बाह्य ऋणले दिगो विकासमा जोखिम, वित्तीय प्रणालीमा सुधार आवश्यक: योजना आयोगका उपाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
sivraj-adhikari-10.jpg

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले बढ्दो बाह्य ऋणको बोझले दिगो विकासका लक्ष्य प्राप्त गर्न जोखिम बढाएको र यसका लागि तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएका छन्। आगामी असार १६ देखि १९ गतेसम्म स्पेनको सेभिलमा हुने “विकासका लागि वित्त” विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा काठमाडौंमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उपाध्यक्ष अधिकारीले विकासशील देशहरूमा बाह्य ऋणको बढ्दो बोझले सामाजिक विकास कार्यक्रमहरू प्रभावित भएको बताए। उनले विश्वभरका विकासशील र विकासोन्मुख देशहरूले आफ्ना नागरिकहरूको स्वास्थ्य र शिक्षामा भन्दा बढी रकम ऋणको ब्याज तिर्नमा खर्च गरिरहेको जानकारी दिए। उनका अनुसार, ती देशहरूले आफ्नो कुल राजस्वको १० प्रतिशतभन्दा बढी ब्याज तिर्नमा खर्च गरिरहेका छन्, जसले स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा लगानी घटाइरहेको छ। यसले नेपालसहित विकासोन्मुख र विकासशील राष्ट्रहरूको विकास यात्रालाई जोखिममा पारेको उनको भनाइ छ।

उनले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय प्रणाली विकासशील तथा न्यून आय भएका मुलुकहरूको वास्तविक आवश्यकता र प्राथमिकताको दृष्टिले पर्याप्त समावेशी र न्यायसंगत नभएको स्पष्ट पारे।

अधिकारीले नेपालको आर्थिक स्थितिको बारेमा जानकारी दिँदै १६औँ योजनाको अवधिमा कुल १११.८४ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बताए। यसमध्ये सार्वजनिक क्षेत्रबाट ३०.२%, निजी क्षेत्रबाट ६७.२%, र सहकारी क्षेत्रबाट २.६% लगानी आवश्यक पर्ने अनुमान गरिएको छ।

उनले सन् २०२४ देखि २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २११ खर्ब ६५ अर्ब रुपैयाँ (वार्षिक औसतमा ३० खर्ब २३ अर्ब रुपैयाँ) लगानी आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिए। साथै, सन् २०२४ देखि ३० को अवधिमा औसतमा ७५५ अर्ब रुपैयाँ (कुल गार्हस्थ्य उत्पादनको ११.१ प्रतिशत) को वित्तीय अन्तर रहनेछ। यसमध्ये पनि सार्वजनिक क्षेत्रमा वार्षिक औसत वित्तीय अन्तर ४२६ अर्ब रुपैयाँ र निजी क्षेत्रको लागि वित्तीय अन्तर ३२९ अर्ब रुपैयाँ हुने अनुमान छ। यो वित्तीय अन्तर पूर्वाधार, दिगो शहर, शिक्षा, स्वास्थ्य, र खानेपानी सरसफाइमा सबैभन्दा ठूलो देखिएको उनले तथ्याङ्कीय जानकारीसहित प्रस्तुत गरे।

उपाध्यक्ष अधिकारीले दिगो विकासका लक्ष्यहरू विश्वव्यापी रूपमा सहमति भएका महत्त्वपूर्ण एजेन्डा भए पनि ती लक्ष्यहरू कार्यान्वयनका क्रममा विकासशील तथा विकासोन्मुख मुलुकहरूमा स्थानीय आवश्यकता र प्राथमिकताहरूले बाह्य ऋणमा असर पार्ने उल्लेख गरे।

उनले भने, "एसडीजी (दिगो विकासका लक्ष्यहरू) कार्यान्वयनका लागि आवश्यक पर्ने वित्तीय स्रोतहरूको अभाव विकासशील तथा न्यून आय भएका मुलुकहरूको मुख्य चुनौती हो र एसडीजी कार्यान्वयनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन ऋण मुख्य माध्यम बनिरहेको छ तर यो ऋणको प्रयोग स्थानीय प्राथमिकताभन्दा पनि विश्वव्यापी लक्ष्य प्राप्तिमा केन्द्रित हुँदा विकासशील तथा न्यून आय भएका मुलुकहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीजस्ता सेवाहरूमा लगानी घटिरहेको छ। यस्तो विश्वव्यापी लक्ष्यमा केन्द्रित लगानीका कारण राज्यको सीमित स्रोतहरू वास्तविक जनताको जीवनस्तरसँग सम्बन्धित क्षेत्रमा प्रयोग हुन पाउँदैनन्, जसले गर्दा सामाजिक असमानता र क्षेत्रीय असन्तुलन हुन जान्छ।"

अधिकारीले ऋणको सन्तुलित व्यवस्थापन र पारदर्शी प्रयोग, स्थानीय प्राथमिकताको सम्मान, र समावेशी वित्तीय प्रणाली निर्माणमा जोड दिए। उनले "विकासशील राष्ट्रहरूमा दिगो, न्यायपूर्ण र प्रभावकारी विकासका लागि स्थानीय प्राथमिकतामा आधारित योजना अवलम्वन गर्नु अत्यावश्यक रहेको" बताए। विश्वव्यापी विकास एजेन्डाहरूलाई सघाउन ऋण प्रवाह भइरहे पनि त्यसको संरचना र शर्तहरूले विकासशील तथा न्यून आय भएका मुलुकहरूमा स्थानीय आवश्यकता र सशक्तिकरणलाई बेवास्ता गरिरहेको उनको भनाइ छ।

उनले हालको अन्तर्राष्ट्रिय वित्त विकास मोडलको पुनरावलोकन गर्न जोड दिँदै दिगो विकास लक्ष्यहरू हासिल गर्ने प्रक्रिया कमजोर र असमान हुन नहुने बताए। नयाँ सोच, नयाँ संरचना, र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न विकासशील र न्यून आय भएका मुलुकहरूका लागि स्थानीय अनुकूल अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको पुनःपरिकल्पना आवश्यक रहेको उनले औँल्याए। साथै, उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले ऋण न्याय र स्थानीय आवश्यकता–उन्मुख विकास मोडलका पक्षमा आवाज उठाउने तयारी गरिरहेको समेत जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ