काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देश युद्धविराममा सहमत भएको घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन्। प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ। त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन्।
ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन्। उनले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भनेका छन्, "ईश्वरले इजरायललाई आशिर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशिर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशिर्वाद दिनुहोस्।"
यद्यपि, हालसम्म यस घोषणाबारे इजरायल र इरानबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट पनि यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन।
यस घोषणाले मध्यपूर्वको तनाव कम गर्न सक्ने सम्भावना देखाएको छ, तर आधिकारिक पुष्टि र कार्यान्वयनको प्रतीक्षा गरिएको छ।