देशभर मनसुनी वायुको प्रभाव: आज भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
574
Shares
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा आज (मंगलबार) दिनभर र रातिसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।
महाशाखाद्वारा जारी बुलेटिनअनुसार, कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ। विशेषगरी, कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भागमा पनि बदली रहनेछ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात को सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा भने आंशिक बदली रहनेछ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले बताएको छ।
मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।