वनभित्रै रमाउने गरी वन्यजन्तुको संरक्षण गर्न सरकार प्रतिवद्धः मन्त्री ठकुरी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
2k
Shares
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो रूपमा देखिएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त भए पनि अर्कोतर्फ यो द्वन्द्व बढिरहेको स्वीकार गरे।
मन्त्री शाही ठकुरीले वन्यजन्तुलाई वनभित्रै रमाउने वातावरण सिर्जना गर्न घाँसे मैदान र पानीको स्रोत व्यवस्थापनजस्ता वासस्थान सुधारका कार्यक्रमहरू राखिएको जानकारी दिए। यसले वन्यजन्तुको प्राकृतिक बासस्थान सुधार्न मद्दत गर्ने र उनीहरूलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने अपेक्षा गरिएको छ।
उनले वनको अतिक्रमण नियन्त्रण, वन डढेलो नियन्त्रण तथा वन पैदावारको चोरी निकासी नियन्त्रणजस्ता वन संरक्षणका कार्यक्रमहरू प्रदेश सरकारको समन्वयमा कार्यान्वयन गरिँदै आएको बताए। संरक्षित क्षेत्रभित्र हुने वन अतिक्रमण, वन डढेलो र वन स्रोत तथा वन्यजन्तुको चोरी निकासी नियन्त्रणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा त्यसअन्तर्गतका कार्यालयहरूबाट कार्यान्वयन हुने गरी बजेटको पर्याप्त व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
"एकातर्फ वन्यजन्तु र जैविक विविधता संरक्षणमा सफलता प्राप्त भएको छ भने अर्कोतर्फ मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्दो रूपमा देखिएको छ," मन्त्री शाही ठकुरीले भने।
मन्त्री शाही ठकुरीले अर्थतन्त्रमा वनको योगदान उल्लेख्य वृद्धि गर्न वनमा आधारित उद्योग, उद्यमशीलता, र प्रकृतिमा आधारित पर्या–पर्यटनको विकासमा सहजीकरण गरिने पनि बताए। यसले वन क्षेत्रको संरक्षणसँगै आर्थिक विकासमा समेत टेवा पुग्ने सरकारको अपेक्षा छ।