arrow

बुटवल–नारायणगढ सडकखण्डको वैकल्पिक मार्ग पनि अवरुद्ध, यात्रुलाई थप सास्ती

दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो, तर त्यो डाइभर्सन पनि बगाएपछि अर्को वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको थियो आज बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
baikalpik-marga-naraghat.jpg

मध्यविन्दु (नवलपरासी)। बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रमा वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको थियो, तर त्यो डाइभर्सन पनि बगाएपछि अर्को वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको थियो। आज बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिएअनुसार, विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको हो। अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा सवारीसाधन आवतजावत गर्न सक्ने स्थिति छैन।

निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयीखोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पनि पानीको बहाव बढेपछि बगाएको थियो। डाइभर्सन बगाएपछि होल्डमा राखिएका साना तथा मध्यम (१२ चक्केसम्म) सवारीसाधनलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्सी गेट, सर्दी र ज्यामिरे राजमार्ग प्रयोग गरी आवतजावत गराइँदै आएको थियो। तर, त्यो मार्ग पनि अवरुद्ध भएपछि अहिले यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरी उपरीक्षक ढकालले बताए।

वर्षासँगै नदी तथा खोलामा आएको बहाव र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रुहरूलाई यात्रामा कठिनाइ हुँदै आएको छ। यसले गर्दा सर्वसाधारणले ठूलो सास्ती भोग्नुपरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ