मनसुनी वायुको प्रभाव : केही प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हवाहुरीको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
627
Shares
काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ।
यसबाहेक, देशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बंगाल आसपासमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। यसका साथै, कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हवाहुरी चल्न सक्ने विभागले चेतावनी दिएको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।
राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना पनि यथावत् छ।
मनसुनी वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले सबैमा अनुरोध गरेको छ।