रातभर परेको पानीका कारण नारायणगढ–बुटवल सडकखण्ड पूर्णरूपमा अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
593
Shares
तस्बिर फाइल
नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ।
गए राति काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिएका छन्।
प्रहरी निरीक्षक तिमिल्सेनाका अनुसार, विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेका बेला एक्कासी आएको बाढीले बसलाई बगाएको हो। "नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो," उनले भने, "तत्काल एक्साभेटर लगेर सबै ३८ जना यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।" बसमा तीन शिशुसहित ३८ जना यात्रु सवार थिए।
उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको तिमिल्सेनाले बताए। यात्रुको सामान के कति बगायो भन्नेबारे भने खुल्न सकेको छैन।
रातभर परेको पानीका कारण नारायणगढ–बुटवल सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन्। प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन्।