arrow

विनियोजन शीर्षकहरूमाथिको छलफल

नेतृत्वले खुट्टा कमाए मुलुक बन्न सक्दैन: चन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
chandra-bhandari-0.jpg

काठमाडौं।  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले बिहीबार प्रतिनिधि सभा बैठकमा नेतृत्वमा रहेकाहरूले खुट्टा कमाएमा मुलुक बन्न नसक्ने कडा टिप्पणी गरेका छन्। विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले बजेटभन्दा पनि देशका गम्भीर समस्याहरूमाथि ध्यान दिनुपर्नेमा जोड दिए।

सांसद भण्डारीले विनियोजन विधेयकमाथि सुरुमा सात वटा विषयमा छलफल गर्ने भनिए पनि अचानक तीन वटा विषयमा मात्र छलफल गर्ने भनिनु सांसदको कमजोरी नभएको स्पष्ट पारे। उनले यसले संसदीय छलफलको गरिमामाथि प्रश्न उठाएको सङ्केत गरे।

करिब ३४ वर्षअघि विधिको शासन, मुलुकको प्रगति र जनताको हितका लागि संसदीय व्यवस्था ल्याइएको भए पनि हाल संसदमा देखिएका असहमति र अवरोधप्रति उनले गम्भीर चासो व्यक्त गरे। "हामी कोही कुर्सीमा बसेका छौं, कोही बोलिरहेका छौं, कोही तल पलेँटी मारेर बसिरहनुभएको छ। यो के हो? यसको समाधानका निम्ति सरकारलाई आग्रह गर्न चाहन्छु," उनले भने, "यो नाटकले, यो प्रवृत्तिले मुलुक अगाडि बढ्न सक्दैनौं।"

भण्डारीले शिक्षा, रोजगारी र दलालीको चंगुलमा परेर युवाहरू विदेश पलायन भइरहेको वर्तमान अवस्थामा यस्तो बजेट ल्याउनु आवश्यक नभएको तर्क गरे। उनले यदि युवाविहीन नेपाल बनाउने हो भने बजेट र विभिन्न शीर्षकमा छलफल किन आवश्यक भन्ने प्रश्न गरे। "हामी युवाविहीन हुँदैछौं, गाउँघरमा युवा छैनन्, बुढाबुढीमात्र छन्। त्यतिमात्र होइन, बिरामीको उपचार र मृत्यु हुँदा लाश उठाउने व्यक्ति छैन," उनले भने, "अब हामीले यसतर्फ चिन्तन गर्नुपर्ने अवस्था छ। हामी त्यसतर्फ गम्भीर हुनसकेनौं।"

उनले देशको नेतृत्व गर्ने व्यक्तिहरू कर्मचारीको दबाबमा आएर खुट्टा कमाउने प्रवृत्तिले मुलुक बन्न नसक्ने ठोकुवा गरे। "कुनै कर्मचारी आउँछ यो विधेयकमा यो ल्याउने भए ल्या नभए हामी राजीनामा दिन्छौं भनेर थर्काउँछ, देशको नेतृत्व गर्ने मान्छे डराएर खुट्टा लुलुलुलु कमाउँछ, खुट्टा कमाएर अब मुलुक बन्न सक्दैन यो पक्का हो," भण्डारीले भने।

उनले मुलुक युवाबिहीन बनिरहेकोतर्फ छलफल गर्नुपर्ने अवस्था भए पनि त्यसतर्फ गम्भीर बन्न नसकेकोमा चिन्ता व्यक्त गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ