मनसुनी वायुको प्रभाव : देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
672
Shares
काठमाडौं। आज दिउँसो देशभरको मौसम साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभरका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ। यस्तै, देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पनि कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै, देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ। यसका अतिरिक्त, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव नेपालमा परेको छ।
मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।