इरानद्वारा ट्रम्पको 'बिनाशर्त आत्मसमर्पण' को माग अस्वीकार
खामेनी भन्छन्: 'यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन'
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
1.7k
Shares
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'बिनाशर्त आत्मसमर्पण' को मागलाई अस्वीकार गर्दै इरानले कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट पारेका छन्। ट्रम्पले इरानले तत्काल आत्मसमर्पण गर्नुपर्ने र आफूलाई (खामेनीलाई) कहाँ लुकेको थाहा भएको तथा चाहेमा हत्या गर्न सक्ने चेतावनी दिएको केही घण्टापछि खामेनीको यो कडा प्रतिक्रिया आएको हो।
"यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्नेछैन," खामेनीले सरकारी टेलिभिजनमा प्रसारित लिखित सम्बोधनमा ट्रम्पको अल्टिमेटमलाई 'अस्वीकार्य' शर्त भनेका छन्। उनले कुनै पनि सैन्य हस्तक्षेपले अपूरणीय क्षति पुर्याउँछ भन्ने कुरा अमेरिकाले बुझ्नुपर्ने चेतावनी पनि दिए।
गत शुक्रबार इजरायलले इरानमा ठूलो बमबारी अभियान चलाएपछि इरानले पनि क्षेप्यास्त्र र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो, जसले मध्यपूर्वमा तनाव अझ बढाएको छ।
सन् १९८९ देखि सत्तामा रहेका र इरानका सबै राज्यका मामिलाका अन्तिम मध्यस्थ मानिने खामेनीले यसअघि नै इरानले इजरायली नेताहरूप्रति कुनै दया नदेखाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।
संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आईएईए) ले तेहरान नजिकै इरानको आणविक कार्यक्रमका लागि 'सेन्ट्रिफ्युज कम्पोनेन्ट' बनाउने दुई वटा भवनलाई इजरायली आक्रमणले ध्वस्त पारेको पुष्टि गरेपछि खामेनीको यो भनाइ आएको हो। यसले इरान आफ्नो अडानमा दृढ रहेको र अमेरिकाको दबाबमा नझुक्ने सङ्केत दिएको छ।