यी हुन् असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू [भिडियो]
पुल सुधारका लागि विश्व बैंकको २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण स्वीकार
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
817
Shares
काठमाडौं । नेपाल सरकारले पुल सुधार, सडक सञ्जाल विस्तार, र ग्रामीण विकासलगायत विभिन्न महत्त्वपूर्ण परियोजनाहरूका लागि विश्व बैंक र दक्षिण कोरिया सरकारबाट ठूलो परिमाणमा सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले यी निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
प्रमुख आर्थिक सहायता सम्बन्धी निर्णयहरू
पुल सुधार तथा मर्मत कार्यक्रम (तेस्रो चरण): विश्व बैंकबाट करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरिने।
बर्दियामा समावेशी ग्रामीण विकास परियोजना: दक्षिण कोरिया सरकारबाट करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गरिने।
रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना: विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट करिब २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरिने।
अन्य महत्त्वपूर्ण मन्त्रिपरिषद्का निर्णयहरू
मन्त्रिपरिषद्ले विभिन्न क्षेत्रमा थप महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ, जसमध्ये केही प्रमुख निर्णयहरू यस्ता छन्:
मत्स्यपालन अनुदान सम्बन्धी विश्व व्यापार संगठन सम्झौता अनुमोदनका लागि सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासका माननीय न्यायाधीश डा. शान्ता सेढाई सापकोटालाई तोक्ने।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुङ्गानालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने।
सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने।
२०८२ असार १६ गतेदेखि २१ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शैय्याको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिका, तनहुँलाई प्रयोग गर्न दिन स्वीकृति दिने।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई २ बिघा, १३ कठ्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा सय शैय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने।
२०८२ असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा आयोजना हुने ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
२०८२ असार ३ गतेदेखि ४ गतेसम्म दुबईमा आयोजना हुने खेलकुदमा एन्टी–डोपिङ (एओआरआइएम) सम्बन्धी २०औँ एशिया/ओशिनिया क्षेत्र अन्तर–सरकारी मन्त्रीस्तरीय बैठक बिषयक कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई स्वीकृति प्रदान गर्ने।
२०८२ असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको सोह्रौं बैठकमा नेपालका तर्फबाट सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) लाई ४०० के. भी. डवलसर्किट विद्युत प्रशारणलाईन आयोजना निर्माणको लागि नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३.६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
२०८२ असार २३ गतेदेखि २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुने वर्ल्ड समिट अन द इन्फरमेसन सोसाइटी फोरम हाइ लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट २०२५ कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने।
२०८२ असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थर्ड मिनिस्ट्रियल कन्फ्रेन्स अन सिभिल रजिस्ट्रेशन एण्ड भिटल स्टाटिस्टिक्स इन एशिया एण्ड द प्यासिफिक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
इन्टरनेशनल बिग क्याट एलाइन्सको सदस्यता प्राप्त गर्न स्वीकृति प्राप्त गर्ने।
नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा. खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने।