इरानविरुद्धको सैन्य अभियानमा जर्मनीको इजरायललाई बलियो समर्थन
इजरायलले यो फोहोरी काम हामी सबैका लागि गरिरहेको हो
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
1.9k
Shares
ओटावा। क्यानाडामा जारी जी–७ शिखर सम्मेलनका क्रममा जर्मन चान्सलर फ्रेडरिक मर्जले मङ्गलबार जर्मन सञ्चारमाध्यमसँग कुरा गर्दै इरानविरुद्धको सैन्य अभियानमा जर्मनीको इजरायललाई बलियो समर्थन रहेको बताएका छन्।
जेडडीएफ प्रसारणकर्तालाई दिएको अन्तर्वार्तामा मर्जले भने, “इजरायलले यो ‘फोहोरी काम’ हामी सबैका लागि गरिरहेको हो।” उनले युद्ध अलोकप्रिय भए पनि यसको सामना गर्नुको विकल्प नभएको सङ्केत गरे। "हामी पनि इरानी शासनको सिकार भएका छौँ। यो मुल्ला शासनले विश्वमा मृत्यु र विनाश ल्याएको छ," उनले थपे।
वेल्ट टिभीसँगको अर्को अन्तर्वार्तामा मर्जले इरानमाथि इजरायलको आक्रमणले इस्लामिक गणतन्त्रको नेतृत्वको पतन हुन सक्ने पनि बताएका छन्। "मलाई लाग्छ, पछिल्ला केही दिनका आक्रमणहरूले मुल्ला शासनलाई निकै कमजोर बनाइसकेको छ र यो आफ्नो पुरानो शक्तिमा फर्कने सम्भावना छैन, जसले इरानको भविष्य अनिश्चित बनाएको छ," मर्जले भने।
उनले इमान्दारीका साथ भन्ने हो भने मुल्ला शासन पुरानै अवस्थामा फर्कने कल्पना पनि गर्न नसक्ने बताए। "सैन्य नेतृत्व र तथाकथित रिभोल्युसनरी गार्ड्सको ठूलो हिस्सा अब सक्रिय छैन, त्यसैले चीजहरू पहिलेको जस्तो हुनेछैनन्," मर्जले स्पष्ट पारे।
इरानविरुद्धको सैन्य अभियानमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्छ कि भन्ने प्रश्नमा मर्जले अमेरिकी सरकारको तर्फबाट अहिलेसम्म कुनै निर्णय नभएको बताए। उनले अमेरिकी संलग्नता हुने वा नहुने भन्ने कुरा अहिले मुल्ला शासन (इरानी इस्लाम शासक) वार्ताको टेबुलमा फर्कन कत्तिको तयार छ भन्नेमा धेरै हदसम्म निर्भर गर्ने बताए। यदि इरानी शासक वार्ताका लागि तयार नभएमा यस प्रकारका थप विकासहरू हुन सक्ने उनले सङ्केत गरे।
इजरायलले आफ्नो शत्रुलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि इरानका विभिन्न स्थानलाई लक्षित गरी शुक्रबार आश्चर्यजनक हवाई अभियान चलाएको थियो। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो अभियानको उद्देश्य व्यापक हुन सक्ने बताएका छन्। नेतन्याहूले सोमबार इजरायलले आफ्नो अभियानमार्फत मध्यपूर्वको मुहार परिवर्तन गरिरहेको र यसले देशमा आमूल परिवर्तन ल्याउन सक्ने बताएका थिए।
इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै धर्मगुरुहरूले शासन गर्दै आएका छन् र पश्चिमा देशहरूले लामो समयदेखि मानव अधिकार उल्लङ्घन र असहमतिलाई क्रूरतापूर्वक दमन गरेको आरोप लगाउँदै आएका छन्।
औद्योगिक लोकतान्त्रिक मुलुक जी–७ का नेताहरूले सोमबार मध्यपूर्वमा इजरायल–इरान द्वन्द्वबाट 'तनाव कम गर्न' आह्वान गर्दै 'इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ' र दुवैतर्फका नागरिकको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।