arrow

‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ ईपीएसबाट कोरिया गएर फर्केकाको सफल कथा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
korea-returnee-book1.jpg

काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावासले प्रकाशनमा ल्याएको शिवप्रसाद पोखरेलद्वारा लिखित ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकको विमोचन गरिएको छ । 

दूतावासले मंगलबार काठमाडौँमा  आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ र कोइका नेपाल प्रमुख खोङ मुहनले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । 

पौडेलले वैदेशिक रोजगारीका लागि विभिन्न कालखण्डमा दक्षिण कोरियामा रोजगारीको अवसर भएका ५० जना व्यक्तिले नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय स्थापित गरी सफलता हासिल गरेको पक्षलाई अनुकरण गर्दै आगामी दिनमा वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिले व्यवसाय सञ्चालन गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । 

दूतावासको यस पहल मार्फत दुई देशबीच सम्बन्ध विस्तारमा उपयोगी हुने धारणा राखे । उक्त कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत र कोइका नेपालका प्रमुखले आ-आफ्ना धारणा राखे । 

राजदूत थेयङले रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया गएर सीप सिकेर नेपाल आएर उद्धमी बन्नु ईपीएसको पनि सफलता भएको बताए । 

उनले पुस्तकको गत वर्ष प्रकाशित पहिलो संस्करणमा २६ कथा समेटिएकामा अहिले दोस्रो संस्करणमा २४ ओटा थपेर ५० ओटा पुर्याएको बताए । 

यसलाई पाँच सयसम्म पुर्याउने लक्ष्य रहेको पनि उनले बताए । 

यस पुस्तकमा समावेश भएका कथाहरु मध्ये सुरेशबहादुर क्षेत्री र धर्मराज जोशीले आ-आफ्ना  व्यवसाय सफलताका सूत्रहरु जानकारी गराउँदै सफलताको लागि समय सापेक्ष लगानीका साथै धैर्यता र मेहनत आवश्यक पर्ने बनाए । 

उक्त कार्यक्रममा भिडियो सामग्रीमार्फत लुम्बिनी प्रदेशका विभिन्न ११ वटा व्यवसाय प्रस्तुत गरिएको थियो । पुस्तकमा सन् १९९०का दशकबाट औद्योगिक प्रशिक्षार्थी कामदारको रुपमा दक्षिण कोरियामा रोजगारको अनुभव लिएका तथा सन् २००७ बाट लागू भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियाको औद्योगिक तथा कृषि क्षेत्रमा काम गरी स्वदेश फर्किएर नेपालमा कोरियाको अनुभव, सीप पूँजीको सदुपयोग गर्दै व्यवसाय गरी रोजगारी सिर्जनाको साथै देशको अर्थतन्त्रमा योगदान गरिरहेका व्यवसायीमध्ये २० जना उत्पादनमुलक क्षेत्र, १६ जना कृषिक्षेत्र, ९ जना सेवामुलक क्षेत्र र ५ जना शिक्षण व्यवसायसहित ५० जनाको सफलताका कथाहरुको सँगालो तपाईं पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तक प्रकाशनमा ल्याएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ