arrow

असार महिनाको राशिफल

सरकारले जनभावना विपरीत कानूनी प्रावधान लागू गर्न सक्ने सम्भावना

विपक्षी दल हाबी हुनाले सत्तापक्षको समीकरणमा प्रश्नचिह्न उठ्ने, कतैकतै भलबाढीको खतरा

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८२ असार १ आइतबार
monthly-horoscope.jpg

२०८२ साल असार महिनाको मासिकफल

हरेक वर्षको आषाढ महिनामा सूर्यले मिथुन राशिको परिभ्रमण गर्दछ । मासिक राशिफलको चर्चा गर्दा अधिकतम रूपमा सूर्यको केकस्तो प्रभाव हुन्छ भन्ने विषयको चर्चा गरिन्छ, तथापि सम्बद्ध राशिको राशिस्वामीका साथमा शनिश्चर, बृहस्पति र राहुको गोचरले पनि मासिक राशिफलमा आंशिक प्रभाव पार्ने गर्दछ । यस पटक वि.सं. २०८२ आषाढ १ गते आइतबार साँझ ०७ः४४ बजेदेखि सूर्यको मिथुन राशिको गोचर प्रारम्भ हुनेछ । यो महिना  वि.सं. २०८२ आषाढ ३२ गते राति ८ः१५ बजेसम्म जारी रहनेछ ।

यस महिनामा एउटा पूर्णिमा र एउटा औंसी परेको छ । अमावस्या तिथि बुधबार र पूर्णिमा तिथि बिहीबार परेको छ । साथै यस महिनाको सङ्क्रान्ति आइतबार रहको छ । यस महिनामा पर्ने अन्य ग्रहगोचरका आधारमा विश्लेषण गर्दा यो महिना खाद्यपदार्थको मूल्य सामान्य रहनेछ । घिउ, तेल, रसादि वस्तु र पहेंला चिजबीजको मूल्यमा बृद्धि हुनेछ, पौष्टिक ठोस वस्तु जस्तै काजु, किसमिस आदिको दाममा गिरावट आउनेछ, त्यसबाहेक जौ, गहुँ र चनाको भाउ पनि घट्नेछ । शेयर बजार तेजी रहने देखिन्छ ।

यस्तै सूतीजन्य वस्तु र लताकपडाको मूल्यमा पनि कमी आउनेछ । देशको पश्चिमी भूभागमा वा सीमान्त क्षेत्रमा सामाजिक सद्भाव खलबलिने वा अशान्त वातावरण बन्न सक्छ । सरकारले जनभावना विपरीत कुनै कानूनी प्रावधान लागू गर्नसक्छ ।
अग्निप्रकोप र वाहन दुर्घटनाको छिटपुट घटना दोहोरिन सक्छन् । विपक्षी दल हाबी हुनाले सत्तापक्षको समीकरणमा प्रश्नचिह्न उठ्नेछ । वर्षाबादलका दृष्टिले यो महिना मध्यम रहनेछ ।

अधिक वर्षाका कारण कतैकतै भलबाढीको सम्भावना छ । मनसुनी महिना भएकाले प्रायः आकाशमा मेघ देखा परिरहने समय हो । तथापि मेघ र वर्षाको विचार गर्दा यस महिनाको ९, १२, १३, १४, १५, १७, २३, २४, २५ र २६ गते मेघबादल र वर्षाको योग बनेको छ ।

राशिफल

मेषः २०८२ असार महिनामा जीवनका सबै पक्षमा अनुकूल समय रहनेछ । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट नवौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै तेस्रो भावमा सूर्य, नवौं भावमा चन्द्र, बाह्रौं भावमा मङ्गल र बृहस्पति, दोस्रो भावमा बुध, तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा शुक्र र राहु, दसौं भावमा शनि एवं सातौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मासप्रवेश लग्नका आधारमा यो महिना अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने समय हो । कार्यपद्धतिमा सुधार गरी अघि बढेमा व्यावसायिक क्षेत्रमा राम्रो परिणाम प्राप्त हुनेछ । पढाइलेखाइमा सफलता मिल्नेछ । घरमा शान्तिपूर्ण वातावरण रहनेछ । प्रेम सम्बन्ध प्रगाढ हुनेछ । दाम्पत्य जीवन पनि प्रफुल्लित रहनेछ । स्वास्थ्यस्थिति पनि राम्रो देखिन्छ । तेस्रो घरमा रहेको सूर्यको प्रभावले तपाईंमा आत्मबल, सामथ्र्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा बृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ ।

चान्द्रगोचरका आधारमा यस महिनाको ७, ८, ९, १६, १७, १८, २६ र २७ गतेका दिन कमजोर दिन भएकाले सतर्कताका साथमा व्यवहार गर्नुपर्ने हुन्छ । यो महिना अझ राम्रो होस् भन्ने उद्देश्यले दैनिक रूपमा हनुमान् चालिसा वा सुन्दर काण्डको पाठ गर्नु राम्रो हुन्छ । गृहिणीले घरको सरसफाइ गर्दा पानीमा नुन मिसाएर पुछ्नु, सूर्यको प्रियताका लागि दिनहुँ भगवान् सूर्यलाई जलार्पण गर्नु वा माणिक्य रत्न धारण गर्नु पनि यस समयका अनिष्ट ग्रहको निवारण गर्ने बलियो उपाय हो ।

बृषः २०८२ असार महिना तपाईंका लागि मिश्रित प्रभाव भएको समय हो । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट आठौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै दोस्रो भावमा सूर्य, आठौं भावमा चन्द्र, एघारौं भावमा मङ्गल र बृहस्पति, तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा बुध, बाह्रौं भावमा शुक्र र राहु, नवौं भावमा शनि एवं छैटौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्नका आधारमा यो महिना इच्छित काम पूरा गर्न सकिंदैन, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । काम विशेषले आर्थिक बोझसमेत बढ्नसक्छ, जबकि लगानी र दौडधुपको उचित मूल्य पाउने अवस्था देखिंदैन । यो महिना सूर्यले दोस्रो भावमा गोचर गर्नेछ, यसको प्रभावले कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम÷सुनाम चल्ने र साख बढ्ने संकेत छ । यो धनबृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । पारिवारिक जीवन अनुकूल रहनेछ । भाग्य भावमा बसेको शनिले व्यापार र जागिरमा राम्रो नतिजा प्रदान गर्नेछ । आफ्नै राशिमा बस्ने बुध र शुक्रका कारण जागिरे वा विद्यार्थीलाई सफलता दिलाउनेछ । सोच्ने सामथ्र्य, निर्णय क्षमता र ज्ञानमा बृद्धि हुनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ । घरजग्गा वा पैतृक सम्पत्तिको कुनै चिन्ता छ भने विवाद सामन्जस्यका लागि यो महिना अनुकूल छ । प्रेम सम्बन्ध अझ सुदृढ र परिपक्व बन्नेछ । आर्थिक अवस्था अनुकूल रहनेछ । स्वास्थ्यस्थिति पनि बलियो नै देखिन्छ, तर यदाकदा दोस्रो भावको सूर्यको प्रभावले बोलीमा कटुता देखिने तथा तनावमा बृद्धि हुने परिस्थिति बन्नसक्छ ।

राशिमा पर्ने चन्द्रमाको प्रभावका आधारमा यस महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईंले होस राखेर चल्नुपर्ने हुन्छ । यो महिना कुनै पनि अरिष्ट फल नआओस् र शुभ फलमा बृद्धि होस् भन्ने उद्देश्यले निरन्तर भगवान् गणेशको पूजा गर्नु ठीक हुन्छ । त्यसबाहेक चेलीबेटीलाई अथवा माता दुर्गाको मन्दिरमा सेतो चम्किलो रेशमी कपडा दान गरेमा पनि शुभतामा बृद्धि हुनेछ ।

मिथुनः २०८२ असारमा मिथुन राशिका व्यक्तिको जीवनमा असार महिना मिश्रित प्रकृतिको फल लिएर उपस्थित भएको छ । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट सातौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा सूर्य, सातौं भावमा चन्द्र, दसौं भावमा मङ्गल र बृहस्पति, बाह्रौं भावमा बुध, एघारौं भावमा शुक्र र राहु, आठौं भावमा शनि एवं पाँचौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्न सातौं भावमा परेको छ, यसको प्रभावले व्यक्तित्वमा निखार आउनेछ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने समय हो । प्रशस्तै नभए पनि राम्रो आम्दानीको सम्भावना देखिन्छ । उता सूर्यले समेत तपाईंको आफ्नै राशिमा भ्रमण गर्नेछन् । महिनाको उत्तराद्र्धमा राशिस्वामी बुधले पनि तपाईंकै राशिको यात्रा गर्नेछन्, त्यसैले यो महिना पूर्वाद्र्धका तुलनामा उत्तराद्र्ध लाभदायक रहनेछ । व्यवसायिक सन्दर्भमा उत्तम परिणाम प्राप्त हुनेछ । लाभमूलक क्षेत्रमा सरुवा हुने वा कामका सिलसिलामा विदेश भ्रमणको सम्भावना रहेको छ । बन्दव्यापारमा नयाँ लगानीका लागि अनुकूल समय छ । छात्रछात्राले भने उत्तम परिणाम प्राप्त गर्न लक्ष्यप्रति भ्रमित नभई निरन्तर मिहिनेत गर्नुपर्ने हुन्छ । पारिवारिक जीवनमा विवाद र कलहको योग बनेको छ, तर प्रेम जीवनका दृष्टिले यो समय उत्तम रहनेछ । जीवनसाथीसँगको सम्बन्ध सुमधुर हुनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । जागिर तथा व्यवसायबाट धनधान्य र प्रतिष्ठा बढ्नेछ । सञ्चित धनको उपयोग हुनेछ, स्थिर सम्पत्तिको जोहो गर्न सकिने छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा बृद्धि हुनेछ ।

सामान्यतया यस महिनाको ३, ४, ११, १२, १३, २१, २२, २३, ३० र ३१ गते तपाईंका लागि अशुभ रहनेछन् । यस महिनामा कुनै पनि अनिष्टता प्राप्त नहोस् भन्ने उद्देश्यले प्रत्येक आइतवारका दिन भैरव देवताको पूजाआजा गर्नु राम्रो हुन्छ । यसबाहेक प्रत्येक बुधवारका दिन गाईलाई हरियो घाँस खान दिनु, विवाहित चेलीबेटीलाई श्रृङ्गारका सामाग्री उपहार दिनु तथा दिनैपिच्छे भुस्याहा कुकुरलाई खानेकुरा प्रदान गर्नु पनि तपाईंका लागि लाभदायी ठहरिने छ ।

कर्कटः २०८२ असार महिनाको पूरा समय सूर्य नारायणले बाह्रौं भावको यात्रा गर्ने महिना भएकाले असार महिना तपाईंका लागि चुनौतीपूर्ण समय हो । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट छैटौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै बाह्रौं भावमा सूर्य, छैटौं भावमा चन्द्र, नवौं भावमा मङ्गल र बृहस्पति, एघारौं भावमा बुध, दसौं भावमा शुक्र र राहु, सातौं भावमा शनि एवं चौथो भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्नका आधारमा यो महिना कडा परिश्रमका माध्यमबाट आफूलाई अरुभन्दा फरक साबित गर्न सक्नुहुन्छ, तर पनि घमण्ड र तुजुक प्रदर्शन गर्ने काममा सतर्क रहनुपर्छ । द्वादश सूर्यको प्रभावले खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईंको घरपायक सरुवा हुनसक्छ । बन्दव्यापार वा कार्यक्षेत्रमा कुनै समस्या उत्पन्न हुनाले मानसिक तनावमा बृद्धि हुनेछ । सङ्क्रान्तिका दिन छैटौं भावमा रहेको राशिस्वामी चन्द्रमाको प्रभावले विवाद र कलहको योग बनेको छ । व्यक्तिगत स्वास्थ्यस्थितिमा पनि उतारचढाव भइरहने छ । सातौं भावमा बसेको कण्टक शनिको प्रभावले दाम्पत्य जीवन, प्रेमसम्बन्ध र साझेदारीको कारोबारमा पनि फाटो बढ्नसक्छ । तर पनि यो महिना आर्थिक जीवन अनुकूल रहने छ र छात्रछात्राले पनि पढाइमा ध्यानकेन्द्रित गर्नेछन् ।

राशिस्वामी चन्द्रमाले यस महिनाको ५, ६, १४, १५, १६, २४ र २५ गतेका दिन अशुभ भावको यात्रा गर्ने भएकाले अलि बढी सतर्कता अपनाउनु पर्छ । यो महिना कुनै पनि समस्या नपरोस् र व्यक्तित्व तथा पारिवारिक जीवनमा आइपर्ने हरेक चुनौतीको सामना गर्न सकियोस् भन्ने उद्देश्यले तपाईंले दिनहुँ भैरव चालिसाको पाठ गरेको जाती हुन्छ । त्यसबाहेक दैनिक रूपमा शिवजीको पूजाउपासना गर्ने, सोमवारका दिन शिवालयमा गएर दुग्धधाराद्वारा अभिषेक गरिदिने तथा पूर्णिमाका दिन दान गरेमा पनि शुभफलमा बृद्धि हुनेछ ।

सिंहः २०८२ असार महिनामा सूर्यले तपाईंको राशिको स्वामित्व गर्ने गर्दछ र असार महिनाभरि सूर्यको लाभ भावमा भ्रमण हुने गर्दछ । समग्रतामा यो शुभ फल पाउने समय हो । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट पाँचौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै एघारौं भावमा सूर्य, पाँचौं भावमा चन्द्र, आठौं भावमा मङ्गल र बृहस्पति, दसौं भावमा बुध, नवौं भावमा शुक्र र राहु, छैटौं भावमा शनि एवं तेस्रो भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश पाँचौं भावमा परेकाले यो महिना महत्वपूर्ण उपलब्धिको बाटो खुल्ने समय छ, यतिवेला आफूलाई उर्जाले भरिएको महसुस गर्नुहुनेछ । अहिले आफ्नो क्षमता र सामथ्र्यले अरुलाई प्रभावित बनाउन सकिने छ । कतिपय परिस्थितिमा चुनौती र सङ्घर्षको अवस्था पनि आउन सक्छ । यस अवधिमा कामप्रतिको आत्मविश्वास बढ्नेछ र कार्यक्षेत्रमा राम्रो गर्ने तथा पदोन्नति वा प्रशंसा मिल्ने योग बनेको छ । विद्यार्थीले आफ्नो अध्ययनमा थप मिहिनेत गर्नेछन् । एघारौं भावमा सूर्य र बुधको युति बनेकाले सरकारको उच्च ओहदाका मानिससँग तपाईंको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईंले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । पारिवारिक जीवन र गृहस्थी सुखमा राम्रो समय छ, वातावरण सद्भाव र प्रेमले भरिपूर्ण रहनेछ, कामको चाप बढ्नाले प्रेमीलाई समय दिन सकिंदैन, परिणामतः प्रेम जीवनमा सामान्य कठिनाइ आउन सक्छ । बृहस्पतिको आठौं भावको गोचर अवधि भएकाले लवमेटसँग मनमुटाव बढ्न सक्छ । आर्थिक अवस्था राम्रो रहनेछ । मङ्गल र बृहस्पतिको दोस्रो भावमा पूर्ण दृष्टि रहनाले आम्दानीको पाटो बलियो देखिन्छ, यस अवधिमा गोप्य धनसमेत प्राप्त हुनसक्छ । छैटौं भावमा शनिको बक्र गति रहेकाले स्वास्थ्यस्थिति सम्बन्धी केही कठिनाइ देखापर्न सक्छ । सानोतिनो चोटपटकको योग बनेकाले सवारीसाधन, हातहतियार र विस्फोटक पदार्थसित खेलवाड गर्नुहुँदैन ।

चान्द्रगोचरका आधारमा यस महिनाको ७, ८, ९, १६, १७, १८, २६ र २७ गतेका दिन कमजोर दिन भएकाले सतर्कताका साथमा व्यवहार गर्नुपर्ने हुन्छ । यस महिनामा पनि शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईंले दैनिक रूपमा भगवान् सूर्यको उपासना गर्नुपर्दछ । भगवान् सूर्यको बीज मन्त्रको जाप गर्ने वा घाँटीमा पेन्डेन्ट बनाएर सूर्ययन्त्रको धारण गर्ने, कुनै ब्राह्मण वा गरीवगुरुवालाई आफ्नो तौलबराबर गहुँ दान गरेमा समेत शुभफलमा बृद्धि हुनेछ ।

कन्याः २०८२ असार महिनामा कार्यक्षेत्रमा कडा मिहिनेत गरी प्रतिष्ठा प्राप्त गर्न सङ्घर्ष गर्ने समय हो । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट चौथो भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै दसौं भावमा सूर्य, चौथो भावमा चन्द्र, सातौं भावमा मङ्गल र बृहस्पति, नवौं भावमा बुध, आठौं भावमा शुक्र र राहु, पाँचौं भावमा शनि एवं दोस्रो भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्नका आधारमा चौथो भावको प्रभाव रहनेछ, जसअनुसार करियर परिवर्तन र उच्च शिक्षा प्राथमिकताको विषय बन्नेछ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि राम्रो छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ, गरेको प्रयासमा भाग्यको साथ रहने छ । प्रेम जीवनमा केही असहजता आउन सक्छ, तर दाम्पत्य जीवन र पारिवारिक सुखमा कमी आउने छैन । विद्यार्थीले पढाइमा भन्दा पनि मनोरञ्जन र खेलवाडमा रूचि देखाउनेछन् । दोस्रो घरमा बसेको केतुले बोलीमा कटुता देखिने छ, जसले घरपरिवारमा द्वन्द्व र कलहको स्थिति बन्नसक्छ । सूर्यले दशम भावको गोचर गर्ने महिना भएकाले यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । त्यस्तै व्यवसायीले आफ्नो व्यापारिक प्रतिष्ठानको चतुर्दिक् उन्नति गर्ने समय पनि हो । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्त्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । कर्मचारीले मनले चाहेको जिम्मेबारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ ।

राशिमा पर्ने चन्द्रमाको प्रभावका आधारमा यस महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईंले होस राखेर चल्नुपर्ने हुन्छ । यस महिनालाई अझ राम्रो बनाउन तपाईंले प्रत्येक शनिवारका दिन दुर्गा चालिसा वा दुर्गा कवचको पाठ गरेको जाती हुन्छ । त्यसबाहेक हरेक हप्ताको बुधवारका दिन श्री गणेशलाई दुबो चढाउँदा, गाईलाई हरियो घास खान दिएमा वा भुस्याहा कुकुरलाई खान दिएमा पनि शुभफलमा बृद्धि गर्न सक्नुहुन्छ ।

तुलाः २०८२ असार महिनामा तुला राशिका लागि अधिकतम् क्षेत्रमा सफलता हासिल हुने समय हो । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट तेस्रो भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै नवौं भावमा सूर्य, तेस्रो भावमा चन्द्र, छैटौं भावमा मङ्गल र बृहस्पति, आठौं भावमा बुध, सातौं भावमा शुक्र र राहु, चौथो भावमा शनि एवं तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्नका आधारमा सँगीसाथी र आफन्तको सहयोग गर्ने मानसिकता बन्नेछ, यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । लाभ भावको मालिक सूर्यदेवले असार महिनाभरि भाग्य भावको यात्रा गर्नेछ । यसको प्रभावले पिता, यो परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा बृद्धि हुने महिना हो, सन्तानले उन्नति/प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । राशिस्वामी शुक्रको अष्टम भावको यात्रावधि भए पनि स्वगृही भएकाले यसबाट पनि धेरथोर लाभ नै हुनेछ । काममा सफलता पाउने समय हो । भाग्यबल र कर्मक्षेत्रमा प्रगति हुनेछ । पञ्चम भावको मालिक शनिदेवले बक्र गतिमा चतुर्थ भावको यात्रा गरेको समय भएकाले शिक्षादीक्षाको क्षेत्रमा र प्रेम जीवनमा नकारात्मक असर पर्नेछ । विद्यार्थीले कडा मिहिनेत गर्न सक्दैनन् । त्यस्तै शनिको बक्र गतिको प्रभाव तथा अष्टम भावमा शुक्रको उपस्थितिका कारण प्रेमजीवनमा फाटो बढ्नेछ, प्रियजनसँग विनाकारण झगडाको वातावरण बन्नसक्छ । चतुर्थ भावमा बसेको शनिको दशम भावमा पूर्णदृष्टि भएकाले आम्दानीमा वृद्धि हुनुका साथै व्यापारबट्टामा लाभ हुनेछ । बृहस्पतिले छैटौं भावको यात्रा गरेको हुँदा स्वास्थ्यस्थिति राम्रो रहनेछ र यस अवधिमा पुराना रोगीले पनि राहतको महसुस गर्नेछन् ।

सामान्यतया यस महिनाको ३, ४, ११, १२, १३, २१, २२, २३, ३० र ३१ गते तपाईंका लागि अशुभ रहनेछन् । यस महिनामा कुनै पनि अशुभता नहोस् र शुभ फलमा निरन्तर बृद्धि भइरहोस् भन्ने उद्देश्यले तपाईंले प्रत्येक शुक्रबार माता दुर्गा वा माता लक्ष्मीको उपासनामा जोड दिनुपर्छ । यस बाहेक चेलीबेटीलाई उपहार प्रदान गर्नु, गाईलाई चारो दिनु र ओपल रत्न धारण गर्नुसमेत यस अवधिमा शुभता प्राप्त हुने उपाय हुन् ।

बृश्चिकः २०८२ असार महिनामा वृश्चिक राशिका व्यक्तिले अधिकतम् विषयमा सफलता प्राप्त गर्ने महिना हो । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दोस्रो भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै आठौं भावमा सूर्य, दोस्रो भावमा चन्द्र, पाँचौं भावमा मङ्गल र बृहस्पति, सातौं भावमा बुध, छैटौं भावमा शुक्र र राहु, तेस्रो भावमा शनि एवं बाह्रौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्नको प्रभावले यो महिना आर्थिक पक्ष सुदृढ देखिन्छ र विभिन्न स्रोतबाट आम्दानीमा समेत बृद्धि हुने सङ्केत छ । बोली र कामको कदर हुने समय छ । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । काम र व्यवसायमा सफलता पाइने छ, तर दशौं घरको मालिक सूर्यको यस महिनामा अष्टम भावको यात्रा हुनाले कार्यक्षेत्रमा किसिमकिसिमका समस्या भोग्नुपर्ने परिस्थिति छ । सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । तर राशिस्वामी मङ्गलले पाँचौं र छैटौं भावमा भ्रमण हुने समय भएकाले व्यापार/व्यवसायमा उन्नति हुनेछ । आर्थिक अवस्था राम्रो हुनेछ र कार्यक्षेत्र तथा व्यापारबाट फाइदा हुनेछ । विद्यार्थीका लागि पनि समय राम्रो छ । अध्ययनमा सफलता मिल्नेछ । परिवारमा सुख शान्तिको वातावरण रहनेछ । सप्तमेश शुक्रले महिनाको अधिकतम समय दोस्रो भावको यात्रा गर्ने हुँदा दाम्पत्य जीवनमा पनि शुभ परिणाम प्राप्त हुनेछ ।

भाग्य स्थानको मालिक चन्द्रमाले यस महिनाको ५, ६, १४, १५, १६, २४ र २५ गतेका दिन अशुभ भावको यात्रा गर्ने भएकाले अलि बढी सतर्कता अपनाउनु पर्छ । यस महिनालाई उत्कृष्ट बनाउन तपाईंले श्री गणेशको उपासना गर्नु उचित हुन्छ । त्यस्तै अष्टम भावमा बसेको सूर्यको अनिष्टता निवारण गर्न दिनै पिच्छे तामाको पात्रमा शुद्ध जल र रातो फूल राखी भगवान् सूर्यलाई जलार्पण गर्नु पनि वाञ्छनीय देखिन्छ ।

धनुः २०८२ असार महिनामा धनु राशि हुनेका लागि विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने छ । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै सातौं भावमा सूर्य, तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा चन्द्र, चौथो भावमा मङ्गल र बृहस्पति, छैटौं भावमा बुध, पाँचौं भावमा शुक्र र राहु, दोस्रो भावमा शनि एवं एघारौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । तपाईंको आफ्नै राशिमा मास प्रवेश लग्न परेकाले यो महिना मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्ने अब आफैं तर्किएर हिंड्नेछन् । त्यस्तै भाग्य भावको मालिक सूर्यले यस अवधिमा सप्तम भावको यात्रा गर्नेछ । यसको प्रभावले बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवनसाथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्नेछ । बन्दव्यापारमा संलग्नका लागि राम्रो कारोबार हुने समय हो । यस अवधिमा चतुर्थ भावमा राशिस्वामी बृहस्पतिको उपस्थिति रहनेछ, यसको प्रभावले पारिवारिक जीवन उल्लासपूर्ण रहने छ । पञ्चम भावमा मङ्गल, राहु र शुक्रको संयोगले गर्दा मनमा विकार उत्पन्न हुने खतरा छ, विद्यार्थीमा यसको प्रत्यक्ष प्रभाव पर्नसक्छ । प्रेमजीवनमा राम्रै छ, तथापि बाहिरी व्यक्तिको हस्तक्षेपले सम्बन्ध टुट्न सक्छ । आर्थिक अवस्था प्रायः अनुकूल नै रहनेछ, तर दोस्रो घरको मालिक शनिमा बक्र गति रहेकाले आर्थिक सङ्कटको योग पनि बनेको छ, परिबन्द र बाध्यताका काममा ठूलो धनरकम प्रवाहित हुनसक्छ । सप्तम भावमा सूर्यको उपस्थिति रहेकाले वैवाहिक जीवनमा केही कठिनाइ आउन सक्छ । स्वास्थ्यस्थिति सामान्यतया राम्रो रहनेछ ।

चान्द्रगोचरका आधारमा यस महिनाको ७, ८, ९, १६, १७, १८, २६ र २७ गतेका दिन कमजोर दिन भएकाले सतर्कताका साथमा व्यवहार गर्नुपर्ने हुन्छ । यो महिना हरेक पक्षबाट शुभता प्राप्त होस् र ग्रहजन्य अरिष्टताको नाश गर्न सकियोस् भन्ने उद्देश्यले दैनिक पूजापछि निधारमा केशरीको पहेंलो टीका लगाउनु राम्रो हुन्छ । यसबाहेक तपाईंले प्रत्येक आइतवारका दिन गुड (सक्खर) दान गर्नु, हरेक बिहीवारका दिन विष्णुसहस्रनामस्तोत्रको पाठ गर्नु, बिहीबारका दिन वरको बृक्षको फेदमा वा केराको बोटमा जलसिञ्चन गर्नु शुभता प्राप्त हुने थप उपाय मानिन्छन् ।

मकरः २०८२ असार महिनामा छैटौं घरमा सूर्यले भ्रमण गर्ने भएकाले शुभ प्रभाव पर्ने समय हो, तर राशिस्वामी शनिश्चरको गतिमा बक्रता रहेकाले यस अवधिमा कुनै कुरामा समस्या पनि आउन सक्छन् । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट बाह्रौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै छैटौं भावमा सूर्य, बाह्रौं भावमा चन्द्र, तेस्रो भावमा मङ्गल र बृहस्पति, पाँचौं भावमा बुध, चौथो भावमा शुक्र र राहु, तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा शनि एवं दसौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । मास प्रवेश लग्नका आधारमा यो महिना परिस्थिति र बाध्यताका काममा रुमल्लिनुपर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्नसक्छ, तर वैदेशिक प्रयोजनको काम अथवा दूरदराजमा रहेको सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । सूर्यको प्रभावले यो महिना नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्ने आफैं चुप लाग्नेछन्, तर पनि यो शत्रुपक्ष अर्थात् प्रतियोगी र प्रतिस्पर्धीसित सतर्कता अपनाउने समय हो । पाँचौं घरमा बुधका साथमा पञ्चमेश शुक्रको समेत उपस्थिति रहेकाले तीक्ष्ण बुद्धि र बलियो स्मरणशक्ति देखा पर्नेछ, परिणामतः विद्यार्थीले यस अवधिमा राम्रो प्रदर्शन गर्नेछन् । राशिस्वामीमा आएको बक्रताका कारण आपसीसम्बन्ध र घरपरिवारमा मनमुटाव देखिने छ । तर प्रेमसम्बन्धका दृष्टिले बलियो समय देखिन्छ । स्वास्थ्यका मामिलामा तृतीय भावमा बसेको मङ्गल ग्रहको सहयोग रहनेछ, तर १७ गतेपछि पारिवारिक स्वास्थ्यस्थितिका बारेमा सचेत हुनुपर्छ ।

राशिमा पर्ने चन्द्रमाको प्रभावका आधारमा यस महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईंले होस राखेर चल्नुपर्ने हुन्छ । अहिलेको समयलाई बलियो बनाउन तपाईंले शनिदेवको उपासनामा जोड दिनुपर्छ । कुनै शनिवारका दिन शनि मन्दिरमा चारचोसे दियो बालिदिनु, दुःखमा परेका व्यक्तिलाई कालो कपडा दान गर्नु, शनिबारका दिन कमिलालाई पिठो खुवाउनु र माछालाई चारो हाल्नु पनि यस अवधिमा ग्रहजन्य अशुभता नाश गर्ने उपाय हुन् ।

कुम्भः २०८२ असार महिना तपाईंका लागि फलदायी समय हो । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट एघारौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै पाँचौं भावमा सूर्य, एघारौं भावमा चन्द्र, दोस्रो भावमा मङ्गल र बृहस्पति, चौथो भावमा बुध, तेस्रो भावमा शुक्र र राहु, बाह्रौं भावमा शनि एवं नवौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । एघारौं भाव अर्थात् राज्य स्थानमा मास प्रवेश लग्न परेको यो महिना उन्नतिपथमा देखापर्ने हरेक समस्याको सामना गरेर एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । यस अवधिमा पाँचौं भावमा बसेको सूर्यको लाभ भावमा दृष्टि पर्नाले कार्यक्षेत्रमा पदोन्नतिको बाटो खुल्नेछ, व्यक्तित्वमा विकास हुनेछ । सामाजिक हैसियत र छविमा सुधार आउने छ । बाह्रौं भावमा बसेको राशिस्वामी शनिश्चरको गतिमा बक्रता रहेको र यस अवधिमा एकादश भावको फल प्राप्त हुने हुँदा यस अवधिमा व्यापार÷व्यवसायमा उन्नति हुनेछ । पाँचौं घरको मालिक बुधले १५ गतेसम्म चतुर्थ भावमा रहने हुँदा विद्यार्थीका लागि महिनाको पूर्वाद्र्ध सजिलो हुनेछैन, तर उत्तराद्र्धमा राम्रो प्रतिफल पाउन सक्नुहुन्छ । चतुर्थ भावमा अधिकतम समय चतुर्थेश शुक्रको उपस्थिति रहने हुँदा घरपरिवारमा सुख, शान्ति र एकता कायम रहनेछ । बृहस्पति र मङ्गल ग्रहको दोस्रो घरमा उपस्थिति रहेकाले कुटुम्ब र नातागोताको राम्रो साथ पाइने छ । तर राशिस्वामी शनिमा बक्रता रहेको तथा पाँचौं भावमा पूर्ण दृष्टि रहेकाले दाम्पत्य जीवन र प्रेम सम्बन्धमा विवाद हुने सम्भावना छ । दोस्रो भावमा मङ्गल र बृहस्पतिको युतिसम्बन्ध बनेकाले धनागमको बाटो सहज रहनेछ, आर्थिक उन्नति हुनेछ । यो महिना स्वास्थ्यस्थिति पनि बलियो रहनेछ, तर छैटौं भावमा बृहस्पतिको पूर्ण दृष्टि रहेकाले पेट र छालाको समस्याले सताउन सक्छ ।

सामान्यतया यस महिनाको ३, ४, ११, १२, १३, २१, २२, २३, ३० र ३१ गते तपाईंका लागि अशुभ रहनेछन् । यो महिना शुभफलमा निरन्तर बृद्धि भइरहोस् र ग्रहजन्य कुनै पनि असुविधा नहोस् भन्ने उद्देश्यले तपाईंले आफ्नो कुलदेवी र इष्ट देवताको पूजा गर्नुपर्छ । कुनै बुधवार वा शनिवारका दिन माता दुर्गाको मन्दिर वा शक्तिपीठमा गएर रातो फूल अर्पण गर्दा, हरेक शनिवारका दिन पिपलको फेदमा जलार्पण गर्दा वा तोरीको तेल राखी दियो बालिदिएमा पनि शुभतामा बृद्धि गर्न सकिने छ ।

मीनः २०८२ असार महिनामा मीन राशिका व्यक्तिमा विशेष उत्साह जगाउने छ । सङ्क्रान्तिको समयमा तपाईंको राशिबाट दशौं भावमा मास प्रवेश लग्न परेको छ, त्यस्तै चौथो भावमा सूर्य, दशौं भावमा चन्द्र, तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा मङ्गल र बृहस्पति, तेस्रो भावमा बुध, दोस्रो भावमा शुक्र र राहु, एघारौं भावमा शनि एवं आठौं भावमा केतु ग्रहले उपस्थिति जनाएको देखिन्छ । दशम भावमा मास प्रवेश लग्न परेकाले यस अवधिमा काममा सफलता र आत्मविश्वास बढ्नेछ । कर्मको प्रतिफल प्राप्त हुँदा मानसम्मान बढ्नेछ, उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ । ठूलाबडाको सद्भाव प्राप्त भएमा नबन्ने काम पनि बनाउन सकिने छ । विद्यार्थीले आफ्नो पठनपाठनमा ध्यानकेन्द्रित गर्नेछन् । सूर्यको प्रभावले यो महिना आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानुपर्ने परिस्थिति बन्नेछ । हुन त यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने समय हो । आयआर्जनका नयाँनयाँ अवसर मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित नहुने महिना हो । तर सङ्क्रान्तिका दिन दोस्रो घरमा शुक्र र राहुको युति रहेकाले कुनैकुनै कुरामा घरपरिवारमा अविश्वास र भ्रमको स्थिति रहनेछ, वादविवादको सम्भावना पनि देखिन्छ । प्रेमजीवनमा नया रोमान्सको अवस मिल्नेछ । प्रेमभाव र आपसी विश्वासमा बृद्धि हुनेछ । आर्थिक दृष्टिले पनि यो उत्तम समय साबित हुनेछ । तर यस अवधिमा अष्टम भावमा केतुको उपस्थिति रहेकाले हडबड र शीघ्रतामाथि बन्देज लगाउनु पर्छ, नत्र दुर्घटना र चोटपटकको योग बनेको देखिन्छ ।

गोचरफलका आधारमा यस महिनाको ५, ६, १४, १५, १६, २४ र २५ गतेका दिन चन्द्रमाले अशुभ भावको यात्रा गर्ने भएकाले अलि बढी सतर्कता अपनाउनु पर्छ । यो महिना कुनै पनि अरिष्टता नहोस्, शुभ फलमा निरन्तर बृद्धि भइरहोस् भन्ने उद्देश्यले तपाईंले दोस्रो भावमा बसेको राहु तथा चतुर्थ भावमा बसेको सूर्यको उपासनामा जोड दिनु पर्छ । यसका लागि तपाईंले रोगी र भिखारीको सेवा गर्नुपर्छ । दिनहुँ सूर्योदयको समयमा पूर्व दिशाको यात्रा गर्नुपर्छ, साथै दिनहुँ विष्णुसहस्रनामस्तोत्रको पाठ गर्नुपर्छ । कुनै बृद्धाश्रममा भोजनवस्त्रादि दान गर्नाले पनि शुभतामा बृद्धि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ