आज देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौँमा झरी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
759
Shares
काठमाडौँ । देशभरको मौसम आज आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी वायु र पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँमा झरी परेको छ । बिहानैदेखि मेघगर्जनसहित निरन्तर वर्षा भइरहेको हो ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ। यस्तै, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि यस्तै किसिमको वर्षा हुनेछ।
कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा अन्य क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।
मौसम विश्लेषणहाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव देखिएको छ। यसका साथै, देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले पनि मौसम बदली भएको विभागले जनाएको छ।