पोखरा । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार सम्पन्न सेमिफाइनल खेल जित्दै यी दुई टोलीले फाइनलको यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबमाथि सोझो सेटमा सहज जित दर्ता गर्दै फाइनल पुग्न सफल भयो । पुलिसले एभरेष्टलाई २५-१६, २५-१३ र २५-११ को सोझो सेटमा हराएको हो ।
यसअघि पोखरामा केही साताअघि सम्पन्न भएको नवौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगितामा उपाधि जितेको पुलिसले पुनः दोस्रो उपाधि रक्षा गर्ने दाउमा छ ।
यसैगरी एपीएफले न्यू डायमण्डलाई सोझो सेटमा हराएको हो । एपीएफले २५-१७, २६-२४ र २५-१९ को सेटमा डायमण्डलाई पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।
नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ गतेदेखि सुरु प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्ने आयोजक स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।
उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।