काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य अपरिहार्य रहेको बताएकी छन्।
सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन्। सङ्कटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका समेत महत्त्वपूर्ण हुने उनको भनाइ छ। सङ्घ, प्रदेश र स्थानीय सरकारबीच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको उनले बताइन्।
"स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार र स्थानीयलाई समस्या पर्यो भने सम्झिने सरकार पनि हो," उनले भनिन्, "जोखिममा परेका नागरिकको उद्धार गर्नको लागि स्थानीय सरकारको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ। संविधानको भावनाअनुरूप तीन तहका सरकार र सरकारका विभिन्न निकायहरूबीच सहकार्य र सहअस्तित्व हुन निकै जरुरी पनि छ। नीति निर्माणमा मात्र नभई विपद्जन्य जोखिममा परेका नागरिकको उद्धारमा पनि सहकार्य र समन्वय हुन जरुरी छ। त्यसको एउटा उदाहरण आजको कार्यक्रम हो।"
उपप्रमुख डंगोलले विपद्जन्य घटना हुनुअगावै दक्ष जनशक्ति तयार हुनु सबैको आवश्यकता भएकोमा जोड दिइन्। "विपद् प्रतिकार्यको दक्ष जनशक्तिको अभावमा धेरै क्षति भयो भन्ने कुरा सुन्न नपरोस् भन्नको लागि आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, रेडक्रस र महानगरबीचको समन्वयमा तालिम प्रदान गरिएको हो," उनले थपिन्।
सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताएका छन्। उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका लागि कृत्रिम अभ्यासहरू सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए।
"नेपाल भौगोलिक बनावटले गर्दा प्राकृतिक प्रकोपको दृष्टिकोणले एकदमै संवेदनशील छ," एसएसपी श्रेष्ठले भने, "नेपाल जलवायु परिवर्तनको हिसाबले चौथो र बाढी पहिरोको हिसाबले ३०औँ अति जोखिम राष्ट्रहरूमध्येमा रहेको छ। काठमाडौं उपत्यकामा पनि केही वर्षदेखि जल प्रकोपका घटनाहरू बढिरहेको हामीले अनुभव गरिरहेका छौँ। बाढी तथा डुबानको कारण उपत्यकामा वर्षेनी ठूलो धनजनको क्षति हुँदै गइरहेको छ। यो वर्ष सरदरभन्दा बढी पानी पर्ने र विपद्का घटनाहरूमा समेत वृद्धि हुने देखिन्छ।"
पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा समेत बाढी र डुबानका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।