काठमाडौँ । जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले इरानले आणविक हतियार प्राप्त गर्ने कुनै पनि योजनाबाट आफूलाई टाढा राख्नुपर्ने बताए।
संयुक्त राज्य अमेरिकासँगको आणविक सम्झौतामा सहमति जुट्न नसकेको र यदि अमेरिकाले आफ्नो भू–भाग वा सहयोगी समूहमाथि कारबाही बढाएमा तेहरानले संवर्धित युरेनियमको उत्पादन बढाउने घोषणा गरेको अवस्थामा वाडेफुलको यस्तो भनाइ आएको हो।
संयुक्त राज्य अमेरिका र इरानबीच यस विषयमा नयाँ चरणको वार्ता हुनुअघि वाडेफुलले रोममा पत्रकारहरूसँग भने, "हामी आशा गर्दछौं कि इरानले आणविक हतियार प्राप्त गर्ने कुनै पनि योजनालाई विश्वसनीय रूपमा त्याग्नेछ।"
इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताए।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वासिङ्टनबीच पाँच चरणको वार्ता भएको छ।