अधिकांश स्थानमा वर्षा, काठमाडौँ उपत्यकामा शनिबारसम्म सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
585
Shares
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ ।
देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताए ।
“हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको ईलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ”, उनले भने ।
उनका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ ।
महाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।