नेतृत्व चुन्दै अनेरास्ववियु, १५ सय मतदाता, ५१९ उम्मेदवार [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
624
Shares
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । बिहान ८ बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।
४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको हो । ४ बजेसम्म लाइन बस्नेलाई मतदान गर्न दिने निर्वाचन समितिले जनाएको छ । मतदान सकिएको १ घण्टापछि मतगणना सुरु हुनेछ । आज राति नै मतपरिणाम सार्वजनिक हुने महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए ।
अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कडरिया प्रतिस्पर्धा गर्दैछन्।
एक जना खुला उपाध्यक्षका लागि विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन्। त्यसैगरी, एक महिला उपाध्यक्ष पदका लागि सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिएका छन्। महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच प्रतिस्पर्धा हुनेछ।
अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले कागजको मतपत्रको झन्झट हटाउन र मतदानलाई सहज बनाउन विद्युतीय मेसिनको प्रयोग गरिएको बताए। राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार यस निर्वाचनमा कुल ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।
महाधिवेशनमा करिब १ हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन् । हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जना मतदातालाई मतदान गर्न कम्तीमा १५ देखि २० मिनेट लाग्ने अनुमान गरिएको छ।
अनेरास्ववियुको इतिहासमा पहिलोपटक ३२ वर्षको उमेर हदअनुसार निर्वाचन हुँदैछ। महाधिवेशन गत जेठ २५ गतेदेखि सुरु भएको थियो।