गर्मी घट्दै, पूर्वमा वर्षाले राहत : मनसुन विस्तारको प्रतीक्षा
अन्य क्षेत्रमा अझै गर्मी रहे पनि क्रमशः तापक्रम घट्दै जाने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
570
Shares
काठमाडौँ । मौसम बदली भएसँगै देशका विभिन्न स्थानमा परेको वर्षाका कारण तापक्रम क्रमशः घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालको पूर्वक्षेत्रमा विगत दुई दिनमा बढी वर्षा भएकाले त्यहाँको तापक्रममा कमी आएको छ। यद्यपि, अन्य क्षेत्रमा अझै गर्मी रहे पनि क्रमशः तापक्रम घट्दै जाने जनाइएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै बढी रहे पनि घट्ने क्रममा रहेको बताए। उनले पूर्वको तुलनामा पश्चिम क्षेत्रमा बढी गर्मी हुने जानकारी पनि दिए।
मौसमविद् लामिछानेका अनुसार, पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको छ। यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने र यसकारण बिहीबार र शुक्रबारको तापक्रममा थप गिरावट आउने उनले बताए।
महाशाखाले ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको जनाएको छ। तर, दिउँसोको समयमा भने गर्मी नै महसुस हुने उल्लेख गरिएको छ।
बुधबार साँझ जारी सूचनामार्फत महाशाखाले भनेको छ, "यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा मापन भएको छ। सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरूमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।"
हाल मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदेशबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले निरन्तर अनुगमन गरिरहेको जानकारी दिए।
"मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिनेछ," उनले भने।
मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब दुई दिन मात्र बाँकी छ। यसपालि यो मिति आउनुभन्दा १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर पछि पूर्वी एसिया फर्किएको जनाइएको छ ।