काठमाडौँ । ब्रजिल सन् २०२६ को विश्वकपमा आफ्नो स्थान पक्का गर्न सफल भएको छ । भिनिसियस जुनियरको निर्णायक गोलसँगै ब्रजिलले मंगलबार साओ पाउलोमा भएको खेलमा पाराग्वेलाई १–० ले हराउन सफल भयो । मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको घरेलु मैदानमा भएको पहिलो खेल पनि सफल रह्यो ।
यस नतिजासँगै इक्वेडर पनि विश्वकप नजिक पुगेको छ। हालको विश्व विजेता अर्जेन्टिनाले कोलम्बियासँग १–१ को बराबरी खेलेको थियो । अर्जेन्टिना यसअघि नै संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट भइसकेको छ ।
ब्रजिल २५ अंकसहित दोस्रो स्थानमा पुगेको छ। अर्जेन्टिनासँग १० अंकले पछि परे पनि सातौं स्थानमा रहेको टिमभन्दा ६ अंकले बढी हुँदा ब्रजिल छानिएको हो ।
अब दक्षिण अमेरिकी छनोटमा दुई खेल मात्र बाँकी छन् ।
दक्षिण अमेरिकाबाट शीर्ष ६ टोलीले विश्वकपमा स्थान बनाउने छन् । यसपालि विश्वकपमा ४८ टोली हुनेछन् ।