arrow

पनौतीमा १४२१ वर्ष पुरानो ऐतिहासिक हिले जात्रा शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
hiley-jatra-082.jpg

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाइँदै आएको हिले जात्रा यस वर्ष पनि शुरु भएको छ। यो जात्रा जेठ २७ गते (सोमबार) बाट औपचारिक रूपमा शुरु भई जेठ २८ गते (मंगलबार) सम्म चल्नेछ।

परम्पराअनुसार, पुण्यमती खोलामा नागको प्रतीक स्वरूप दुईवटा बाँस तेर्स्याएपछि नगरका देवगण (दुइचा न्याकेगू) ले पानी तरेर जात्रा शुरु भएको मानिन्छ। जात्राको पहिलो दिन राति भद्रकालीको रथ तान्ने, गैंडु पूजा गर्ने र विशेष होम सञ्चालन गर्ने परम्परा छ।

चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा विधिपूर्वक पूजा-आराधना गरिन्छ। विशेषगरी, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वपट्टि रहेको महेश्वर गणेशको खट बोकेर नगर परिक्रमा गरिन्छ। साँझपख भद्रकालीको रथ तानेर चक्र पूजा गरिन्छ।

पूर्णिमाको दिन जात्राको मुख्य आकर्षण— तीनवटा रथको दौड र जुधाइ — आयोजना गरिन्छ। भद्रकाली, महादेव र इन्द्रेश्वरका रथहरूलाई बजारमा दौडाउन शुरु गरिन्छ र अन्त्यमा तीनै रथलाई आपसमा जुधाइन्छ। स्थानीय परम्पराअनुसार यो रथजात्रा देवतारूपी पात्रहरूको काम-क्रीडासँग सम्बन्धित धार्मिक आख्यानमा आधारित छ। मान्यताअनुसार, भद्रकाली देवी ६४ योगिनीको रूप धारण गरी महादेवलाई लखेट्छिन्। महादेव त्रिवेणीमा लुक्न पुग्छन् तर भद्रकालीले नछाडेपछि भैरवको रूपमा रूपान्तरण भई देवीलाई पछ्याउँछन्। अन्ततः भद्रकाली चारैतिरबाट घेरिन्छिन् र रथ जुधाइ त्यही प्रसङ्गको प्रतीक हो।

जात्रामा सहभागी हुन आएका स्थानीय र बाहिरी पाहुनाहरूको स्वागतका लागि घर-घरमा बलि दिने, पाहुना भित्र्याउने, चिउरी र केरा खाएर घुम किन्ने परम्परा अझै कायम छ। जात्रा सकिएको भोलिपल्टैदेखि रोपाईं शुरु गरिन्छ।

पूजापाठ, देवगणको शोभायात्रा, रथ तान्ने, अबीर जात्रा, सांस्कृतिक कार्यक्रमहरू हुने भएकाले पनौती नगरपालिकाले मंगलबार र बुधबार सार्वजनिक बिदा समेत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ