क्यान्सर अस्पताल वातावरणमैत्री फोहर व्यवस्थापनमा अग्रसरता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
980
Shares
चितवन। यहाँस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूबाट निस्कने फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आएको छ। अस्पतालले फोहरलाई स्रोतमा नै वर्गीकरण गरी विभिन्न प्रविधि र विधिहरूको प्रयोगबाट व्यवस्थित गरिरहेको छ।
अस्पतालका बायोमेडिकल इन्जिनियर रूपेश मिश्रका अनुसार, अस्पतालले पुन: प्रयोग हुने वस्तुलाई छुट्टै राख्ने, कुहिने वस्तुबाट बायोग्यास उत्पादन गर्ने र माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन प्रयोग गरी फोहरलाई घटाएर निःसङ्क्रमित बनाउँछ। अस्पतालको फोहर व्यवस्थापन प्रणालीमा मुख्यतया दुईवटा प्रविधि प्रयोग हुन्छन्। बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहरलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ।
माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहर प्रशोधन गर्ने मुख्य उपकरण हो। यस मेसिनले सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहरलाई प्रशोधन गर्छ। २५० लिटर क्षमताको यो मेसिनले करिब ३० मिनेटमा फोहरलाई प्रशोधन गर्ने मिश्रले बताए। मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई निःसङ्क्रमण (स्टेरिलाइज) गर्छ।
प्रशोधनपछि निस्कने फोहर चिन्न नसकिने धुलोको टुक्रा बन्ने गर्छ। यस प्रक्रियाबाट फोहरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए। यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उनको भनाइ छ। माइक्रोवेभ टेक्नोलोजी आफैँमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने र मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको उनले स्पष्ट पारे।
अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहर सङ्कलन हुन्छ। यो फोहरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ। वार्डहरूबाट फोहर सङ्कलन गर्दा नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहर छुट्याइन्छ। त्यसपछि सङ्कलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरी प्रशोधनका लागि पठाइन्छ। कर्मचारीहरूका लागि पन्जा, मास्क, हेल्मेट, गमबुट र छुट्टै पोशाकसहित आवश्यक सुरक्षा उपकरण उपलब्ध गराइएको उनले बताए। यद्यपि, फोहर व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई निरन्तर एउटै काममा खटाउनुको सट्टा हरेक छ महिनामा जिम्मेवारी परिवर्तन (रोटेसन) गर्नेबारे पनि अस्पताल व्यवस्थापनले विचार गर्नुपर्ने उनको भनाइ छ।
अस्पतालजन्य फोहर व्यवस्थापन राज्यकै लागि चुनौतीपूर्ण रहेको अवस्थामा क्यान्सर अस्पतालले फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने कोसिस गरिरहेको अस्पतालका कार्यकारी निर्देशक शिवजी पौडेलले जानकारी दिए। अस्पतालले फोहर व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन र यसबाट आम्दानीसमेत गर्न ‘फोहरबाट मोहोर’ कार्यक्रमको प्रक्रिया अगाडि बढाएको उनले बताए। यसअन्तर्गत प्रशोधन गर्न मिल्ने वस्तु बिक्री गर्ने योजना रहेको र यसका लागि भरतपुर महानगरबाट बोलपत्र आह्वान गरिसकेको तथा सम्झौता गर्ने प्रक्रियामा रहेको कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए।
उनका अनुसार, वातावरणीय प्रदूषणले क्यान्सरजस्ता रोगको जोखिम बढाउँछ। क्यान्सरजस्ता रोग आन्तरिक कारणले करिब १५ प्रतिशत हुने भए पनि कीटनाशक औषधि, दूषित वातावरण र अन्य बाह्य कारणले क्यान्सर हुने सम्भावना बढी हुने भएकाले फोहरको उचित व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको उनले उल्लेख गरे।
अस्पतालले हालको फोहर व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न तरल (लिक्विड) फोहर व्यवस्थापनका लागि पनि छुट्टै प्लान्ट राख्ने योजना रहेको पौडेलले बताए। अस्पतालले हाल अस्पतालबाट निस्कने पानीको फोहरलाई नर्कट प्रणाली र साना ढुङ्गाहरूको प्रयोगबाट शुद्धीकरण गर्छ। शुद्धीकरणपछिको पानी पर्यावरणमैत्री रूपमा बाहिर निकालिने कार्यकारी निर्देशक पौडेलले बताए।