मनसुन शुरु भएसँगै वाग्मती किनारका बासिन्दा त्रासमा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
498
Shares
तस्बिर फाइल
बरहथवा (सर्लाही)। उत्तरमा चुरे पहाडलाई सिरानी हालेको र पश्चिममा रौतहटसँगको सिमानामा बग्ने वाग्मती नदीका किनारमा बस्ने सर्लाहीका बासिन्दाहरू मनसुन शुरु भएसँगै त्रासमा छन्। चुरेको खोच छिचोल्दै निस्कने वाग्मतीको बहावले वर्षाको समयमा नदी किनारका गाउँहरूको उठिबास लगाउने गरेको छ। खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ।
सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन शुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताए। "वर्षा शुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन," उनले भने, "गत वर्ष खोलाले दुई/तीन स्थानमा ड्याम फुटायो। पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ।" आकाश गड््याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उनले अनुभव सुनाए।
गत वर्ष वाग्मतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो। वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताए। जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि वाग्मतीसँग मिसिने अन्य सहायक नदीले पनि स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ।
रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष वाग्मती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिए। "फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ," उनले भने। उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ। "चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति बितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ," उनले गुनासो पोखे।
चुरेको काखमा वाग्मती खुम्चिएर बगे पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ। नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा वाग्मतीले आफ्नो क्षेत्र फैलाएर झण्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ। "वाग्मतीमा आएको वर्षाको भेल खोलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ," बलरा–१ का हरिशरण कापरले भने। वाग्मतीको बाढीले उनको गत वर्ष खाने अन्नसमेत बगाएर लगेको थियो।
स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ। विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै क्षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए। खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आँकलन र पूर्वतयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ विचल्ली हुन नपर्ने उनको भनाइ छ।
विपद् पूर्वतयारीमा स्थानीय पालिकाले सरोकार भएका निकायसँग छलफल गरी क्षति न्यूनीकरणको प्रयास थालिएको बताएका छन्। नागरिकको जिउधनको रक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको स्थानीय जनप्रतिनिधिले बताएका हुन्।
बलरा नगरपालिकाका प्रमुख रामा शङ्करप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताए। विपद्का समयमा स्थानीय युवा परिचालन गर्न सकिनेगरी सुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको उनको भनाइ छ।
"बाढी, डुबान तथा आगलागीका घटनामा स्थानीय युवा अगाडि हुन्छन्," प्रमुख कुशवाहाले भने, "उहाँहरूलाई हामीले सामान्य आत्मरक्षा र जिउधनको सुरक्षा अपनाउन सकिने उपायका बारेमा जानकारी दिनसके मात्र ठूलो जनधनको क्षति रोक्न सक्छौँ। सोहीअनुरूप सुरक्षा निकायसँग समन्वय गरेर तालिम प्रदान गरिरहेका छौँ।"
गत वर्ष असारमा वाग्मतीमा आएको बाढीले जिल्लाका बलरा नगरपालिका, रामनगर, धन्कौल तथा बसवरिया गाउँपालिकाका अधिकांश वडा प्रभावित बनेका थिए। डुबानले यस क्षेत्रमा खानेपानीको समस्या तथा शैक्षिक संस्था हप्तौँसम्म सञ्चालन हुननसकेको स्थानीय सञ्चारकर्मी जितेश यादवले बताए।
नेपालबाट ठूलो क्षेत्रमा फैलिएर गएको वाग्मती नदीलाई भारतले सीमा क्षेत्रबाटै दुवैतर्फ ड्याम कसेर नियन्त्रण गरेको छ। जसले गर्दा स्वतन्त्र ढङ्गले पानी बग्न नपाउँदा वर्षाको बाढी नेपालतर्फ फर्कने गरेको हो। भारत सरकारले सीमा क्षेत्रमा निर्माण गरेको एसएसबी रोडका कारण चुरेबाट शुरु भएका खहरेले अवरुद्ध हुँदै नेपाली भूमिमा क्षति गरिरहेको स्थानीयको गुनासो छ।