'विद्या भण्डारी एमालेमा फर्किने' मा ओलीको टिप्पणी -‘यो अर्को खेल हो, भ्रममा नपर्नू’ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
1k
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर भइरहेका हल्लामाथि टिप्पणी गरेका छन्। ओलीले भ्रमपूर्ण हल्लाको पछि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गरे।
पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने भन्ने समाचारहरू बाहिरिरहेका बेला ओलीले ‘फलाना आउने अरे’ भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे। उनले पार्टीभित्र गुटबन्दी भइसकेको भन्दै गरिएका प्रचारको प्रतिकार गर्न पनि निर्देशन दिए।
ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै भएको छैन। उनले महाधिवेशन घोषणासमेत नभएको र महाधिवेशनमा के गर्ने भन्नेबारे सरसल्लाह नै नभएको जिकिर गरे। "बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर पार्न खोज्ने र पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरूलाई सोझै इन्कार गर्नुस्," उनले भने, "यस्ता खालका कुरा नगर्न त्यस्ताहरूलाई जवाफ दिनुस्। स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ।"
प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक कुराहरू पार्टीभित्रै गर्न र सामाजिक सञ्जालबाट पार्टीलाई खुइल्याउने, होच्याउने वा अपमान गर्ने काम नगर्न समेत चेतावनी दिए।