कुरो हो सन् २००८ को फेब्रुअरी ९ को । त्यतिबेला नारायण दाइको पिताजीको निधन भएको थियो । हामी समवेदना प्रकट गर्न मूलपानी जाँदैथियौँ । साथमा थिए अनन्त वाग्ले । उनी कहिले रिपोर्टिङ त कहिले डेस्क इन्चार्ज बन्थे । उनले फ्याट्ट भने दाजु आज त मुसर्रफलाई मारिदिएछौ नि ।
म झसंग भएँ ।
अघिल्लो दिन पाकिस्तानी नेतृ बेनजिर भुट्टोको हत्या भएको थियो । समाचार अनुवाद गर्दै जाँदा अन्तिम लाइनमा भुट्टोको सट्टा मसुर्रफको हत्या भन्ने लेखिएछ । त्यो कुरो भाषा सम्पादकले पनि छुटाए । जस्ताको तस्तै गयो ।
यसअघि हेमन्तले लेखेको पहिलो पृष्ठमा छापिएको भारतका प्रधानमन्त्री डा. मनमोहन अधिकारी भन्ने एंकरले अन्नपूर्ण पोस्टमा हंगामा मच्चाएको थियो । हेमन्तको समाचार डेस्कका सबै एडिटरले देखेनन् ।
मेमो आतंक नै थियो ।
सिधै तलब च्याट पार्ने प्रचलन ।
मालिकहरु अन्नापुर्नाका डेस्कका टिम अच्छा नहीं है भन्थे ।
बीचमा श्रीदाइले राजीनामा दिएपछि जिवेन्द्र दाइको एउटा जम्बो टोली नै भित्रिएको थियो ।
जिवेन्द्र दाइ निस्किएपछि गुणराज दाइ आए ।
दाइहरु फेरिए पनि मेमो काण्ड बन्द भएन ।
नौ वर्ष नौ महिना १५ दिन जागिर खाँदा दुई पटक मेमोमा परेको छु म पनि । १० हजारबाट सुरु भएको जागिर छ महिनापछि स्थायी हुँदै बर्सेनि बढ्दै जाँदा निकै नै पुगेको थियो । भनौँ आधा लाख ।
एक साताको कमाइ पनि निकै हुने । त्यस्तै हुँदो हो, १० हजार जति । उतिबेलाको १० हजार निकै नै थियो । पत्रुकारको धर्म निभाउँन दारुमा लगानी निकै गरिन्थ्यो । झण्डै चार कार्टुनको दाम गुमाइयो ।
धन्न भर्खर केसीसी पढिसकेकाले मात्र बाँचियो । वाइन एन डाइन विश्वभर पत्रकारमाझ लोकप्रिय पदावली हो । यसमा लाज के मान्नु र बाबा । जात त जनाउनै पर्यो ।
अब हालसालका कुरा जोतौं ।
समावेशी आयोगको खर्चमा नेपालमा कृषि अनुदानको प्रभावकारिता अध्ययनका लागि मेचीकाली यात्रा तय गरियो ।
बुद्धिसरले कोशीको भागमा परेको लालीगुराँस नगरपालिकाको काम सकेर मधेस झर्नुभयो । म पनि गणेशमान चारनाथमा काम सकेर बसेको थिएँ । साँझ परेकाले सर्लाहीमै बसेर हिँडियो, कास्कीका लागि ।
लग्जरी गाडी । गफहान्ने बानी । बाटोमा केही देख्न नहुने भिडियो खिचिहाल्ने मेरो बानी । आन्तरिक पर्यटकको धर्म त निर्वाह गर्नैपर्यो ।
गफ हान्ने भन्ने शब्दले मलाई झन्डै ज्यान लिएको छ । एक दिन एउटी नानीलाई नम्बर पाए त गफ हान्न पाइन्थ्यो भनेको थिएँ । यस कुरालाई महिला अधिकारकर्मीहरुलाई पठाएर गर्नु बेइज्जत गरिन् । यसलाई यौन हिंसासम्म जोड्न भ्याए , कथित अधिकारकर्मीहरुले ।
माओवादीबाट एमाले छिरेकी एउटा स्कूलकी मालिक्नीले त सार्वजनिक रुपमै मलाई पशु उपनाम दिन पनि शंकोच मानिनन् ।
ठीकै छ कुन्नि केलाइ चलाएपछि भन्ने उखान सम्झेर मन बुझाइयो ।
लोकल जस्तै देखिने कोइरल काट्दै थिए तर हामीलाई भने गिरीराजा र ब्रोइलर मिसाएर लोकल भनेर दिए । जता पनि भ्रष्टाचार, वाक्कै लाग्ने । लोकल र ब्रोइलरमा पनि भ्रष्टाचार क्या ।
अलि परमात्रै पुगिएको थियो । रेडियो नेपालको बिहान ११ बजेको समाचारको अन्तिम वाक्य सुन्न पाइयो । समाचार वाचिकाले पढिन्— मूख्यमन्त्री हिम्मत विश्वकर्म ए.. शर्माले बताए ।
विषय बुझे मरिजाउँ । अन्तिम वाक्य भएकाले भेउ पाइएन । ए बाबा हो, विश्वकर्मा भनेर रोकिएर शर्मा भन्दा वाचिकालाई गल्ती महसुस भएन । बरु थपिन् सार्वजनिक प्रसारण माध्यम रेडियो नेपालबाट विहान ११ बजेको समाचार सकियो । अर्को समाचार १२ बजे आउने पनि जानकारी भयो ।
यसअघि एक जनाले हिजोको किर्सि कार्यक्रमको पुनः प्रसारण आउने घोषणा पनि गरेका थिए । कृषि भन्न नजान्ने र गल्ती सच्याउन नसक्ने ती वाचकहरु कसका पालामा भर्ना गरिएका होलान् ।
त्यही रेडियो नेपालमा स्वर परीक्षा पास नगरी गीत गाउन पनि पाइँदैनथ्यो भन्थे गायकहरू ।
हुन त दैनिक बुझाउनुपर्ने गरी कर्मचारी सरुवा गर्ने देशमा विधिको शासनको त के कुरो भो र ?
त्यही भएर होला मेरो साथी उमेशले उही संस्थामा स्थायीको जाँचै नदिइ जागिर छोडेर शिक्षणमा होमिए । उनी अंग्रेजीमा समाचार भन्थे ।
समाचारमा गल्ती हुनु अस्वभाविक होइन । लेखेर पढ्ने भएकाले प्रसारण माध्यममा अलि कम गल्ती हुन्छ ।
अमेरिकामा गत वर्ष गरिएको एक अध्ययन अनुसार ६९ प्रतिशत सञ्चारमाध्यमहरुले दिएका जानकारीहरु कुनै न कुनै हिसाबले गल्ती थिए ।
तीमध्ये करिब १५ प्रतिशले गल्ती सच्याएका थिए । अध्ययन एक सय सात न्युजपोर्टलका वेब साइटहरुमा आधारित भएर गरिएको थियो । गल्ती गर्नेमध्ये १७ साइटले सुधार गरेका थिए ।
विश्वमा समाचार पत्रहरुले सय वर्षपछि पनि गल्ती सच्याएका रेकर्ड छन् । द न्यूयोर्क टाइम्स पत्रिकाले सन् १८५३ मा छापेको समाचारमा भएको गल्तीलाई एक सय ६० वर्षपछि सन् २०१४ मा सच्यायो । सोही पत्रिकाले सन् १९०६ मा राष्ट्रपति लिंकनको घडीबारे लेखिएको समाचारमा भएको गल्ती सय वर्षपछि सन् २००९ मा सच्यायो ।
यस्ता कुरा रेडियो नेपालले पनि बुझोस् । मैले फोन नै गरेर गल्ती सच्याउन अनुरोध गर्दा हुन्छ हेरौँला है त भन्नेहरुलाई सचेत गरियोस् । गल्ती महसुस गर्दा सानो भइँदैन ।
अझ ती समाचारकक्षकी महिलाले त अघिल्लो सिफ्टकाले गल्ती गरे होला । म हेर्छु भनिन् । ठीकै छ । १२ बजे समाचारमा अघिको गल्ती सच्याइएला कि भनेर पर्खें तर सच्याइएन ।
अझै केही बिग्रेको छैन । अब सच्याए पनि हुन्छ । सच्याएको जानकारी पाइयोस् । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)