काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ आयोजना गरेको छ ।
प्रतिष्ठानको कार्यालय नक्सालमा नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिकलगायत विविध विधा–उपविधागत कला समावेश गरी १५ दिने ललितकला प्रदर्शनी आयोजना गरेको हो ।
प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण – ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’मार्फत छानिएका कलाकृति समावेश गरेर सो प्रदर्शनी आयोजना गरेको हो ।
सो प्रदर्शनीमा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।