arrow

पूर्वीनाका काँकडभिट्टाबाट १० महिनामा १६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
petrol-pump.jpeg

भद्रपुर (झापा) ।  चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वीनाका काँकडभिट्टा नाका बाट १६ अर्ब १९ करोड १५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयातमा ५.४० प्रतिशत अर्थात् ९१ करोड ७७ लाख रुपैयाँले गिरावट आएको छ। यद्यपि, आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने ५.९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजार रुपैयाँले वृद्धि भएको छ।

कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट ७ अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस अवधिमा ८४ हजार ३०० किलोलिटर पेट्रोल (७ अर्ब ३४ करोड ११ लाख रुपैयाँ बराबरको) र ५९ हजार ९७६ किलोलिटर डिजेल (५ अर्ब ५३ करोड ९६ लाख रुपैयाँ बराबरको) आयात भएको थियो।

त्यसैगरी, चालु आर्थिक वर्षको १० महिनामा २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास (२ अर्ब ३४ करोड रुपैयाँ मूल्य बराबरको), ६ हजार ६० किलोलिटर एटीएफ (५५ करोड ९४ लाख रुपैयाँ मूल्य बराबरको), र २ हजार १५२ किलोलिटर मट्टितेल (१९ करोड ६९ लाख रुपैयाँ मूल्य बराबरको) आयात भएको कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ