arrow

राजनीतिमा फर्किने तरखरमा आफताब आलम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
aftab-aalam-hospital.jpg

काठमाडौँ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले सफाइ दिएपछि छुटेका नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलम फेरि राजनीतिमा फर्कने तरखरमा रहेका छन् । 

ललितपुरस्थित नख्खु कारागारमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई गत बुधबार साँझ रिहा गरिएको थियो । तर रिहा भएको २४ घण्टा नबित्दै उनलाई हृदयाघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको छ । 

आईसीयूमा रहेर उपचार गरिरहेका उनको शुरुआती चरणमा स्वास्थ्य गम्भीर भए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ । 

उनले सो क्रममा आफू जेलबाट बाहिर आएपछि भगवानले ‘क्लिन चिट’ दिएको र राजनीतिमा फर्कन भनेको पनि दाबी गरेका छन् । उनी संगठन गर्ने र चुनाव लड्ने योजना बनाउने पनि सुनाएका छन् । 

उनको हाउभाउले पनि उनी राजनीतिमा छिट्टै फर्किने छन् भन्ने संकेत गर्छ । हाल आलम अस्पतालमै उपचाररत छन् । 
 
के थियो मुद्दा ? 
रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलमलाई जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले रिहा गर्न आदेश दिएको थियो । 

न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेको थियो ।

रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाउनेहरूमा उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीसमेत हुन् ।

२०६४ साल चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलमसँगै उनका भाइआलमसहित ११ जनाविरुद्ध २०७६ साल कार्तिक १८ गते मुद्दा दर्ता भएको थियो । 

थुनछेक बहसपछि जिल्ला अदालतले कार्तिक २९ गते आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसयता लगातार थुनामा रहेका आलम जिल्ला अदालतबाट दोषी ठहर भएपछि पुनरावेदनमा गएका थिए । 

पुनरावेदनमा बादीले प्रमाण अभावमा आरोपकै भरमा सजाय हुन नसक्ने भन्दै जिल्ला अदालतको आदेश उल्टी हुने फैसला गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ