'डिजिटल करेन्सीदेखि डिजिटल कारोबार नियमन गर्न नयाँ बाफिया आवश्यक': अर्थ मन्त्रालय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
835
Shares
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकमा डिजिटल करेन्सी र डिजिटल कारोबारलाई नियमन गर्ने प्रावधानहरू राखिएको बताएका छन्। उनले यी नयाँ प्रविधिहरूलाई सम्बोधन गर्न नयाँ कानून अपरिहार्य रहेकोमा जोड दिए।
सोमबार अर्थ समितिमा भएको बाफिया विधेयकसम्बन्धी छलफलमा सहसचिव पोखरेलले डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरूलाई अहिलेको पुरानो ऐनले नियमन गर्न नसक्ने बताए। उनले भने, "नयाँ विषयहरू डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरूलाई अहिलेको पुरानो ऐनले चिन्दैन। त्यसैले बाफिया विधेयकमा ती विषयहरू राखिएको छ।"
पोखरेलले बैंक तथा वित्तीय संस्थाहरूमा ६७ खर्ब रुपैयाँभन्दा बढी सर्वसाधारणको निक्षेप रहेको भन्दै त्यसलाई संरक्षण गर्नका लागि पनि नयाँ बाफिया विधेयक ल्याइएको स्पष्ट पारे। उनले सहकारीमा जस्तै जनताको पैसा बैंकमा डुब्न नदिन केही कडा प्रावधान राखेर यो ऐन ल्याइएको र यसलाई संसदीय समितिले छिटो टुंग्याउनुपर्नेमा जोड दिए।