सत्र वटा गाडी स्कर्टिङ गरी काठमाडौँ र चितवन पठाइयाे
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
1k
Shares
पोखरा । पोखराबाट १७ वटा गाडी स्कर्टिङ गरी काठमाडौं र चितवन पठाइएको छ । काठमाडौंका लागि १४ र चितवनका लागि तीन वटा पर्यटक गाडीलाई स्कर्टिङ गरी पठाइएको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशमा चार दिनदेखि र देशभर आजदेखि सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यात्रु अलपत्र परेका थिए ।
स्कर्टिङ गरिएको गाडीमार्फत आज करिब पाँच सय ६४ यात्रुलाई गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेत र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले गाडीलाई स्कर्टिङ गरेको हो ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई सेवा सञ्चालन अनुमतिका लागि नियमावली ल्याएपछि यातायात व्यवसायी आआफ्ना सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका हुन् । व्यवसायीले गण्डकीमा चार दिनदेखि र देशभर आजदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका हुन् ।
पोखरा उद्योग वाणिज्य संघ, होटल संघ पोखरा, होटल प्रतिनिधि समाज पोखरालगायतका संघसंस्थाले यथाशीघ्र वार्तामार्फत समस्या समाधान गरी यातायातका साधन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।