छोरा र श्रीमतीको निधनपछि प्रोस्टेट क्यान्सरसँग जुद्धै थिए रसिक
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
951
Shares
काठमाडौँ। नेपाली साहित्य र संगीतका बहुमुखी प्रतिभा, वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज बिहान ११ बजे निधन भएको छ। उनी ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका थिए।
सङ्गीतकार बुलु मकारुङले जानकारी दिएअनुसार, रसिकको दाहसंस्कार उनकी छोरी बेलायतबाट फर्किएपछि गरिनेछ। हाल उनको पार्थिव शरीर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।
विसं २००४ असोज ४ मा भोजपुरको छिनामाखुमा जन्मिएका रसिक पचासको दशकमा इलाम सरेका थिए। करिब पाँच दशकअघि 'लेकाली' समूहबाट गायन क्षेत्रमा प्रवेश गरेका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा आफ्नो सशक्त पहिचान बनाएका थिए।
उनका 'सारङ्गीभित्र' (कथासङ्ग्रह), 'गणेश रसिकका गीतहरु', 'आकाश गंगाको ओतमुनि', 'दशगजामा उभिएर', 'जब सिस्नोहरु टेक्दै हिँडे' लगायत एक दर्जनभन्दा बढी कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहितका कृतिहरू प्रकाशित छन्।
रसिकका 'हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ', 'तराई हेर कति राम्रो हरियो वन हुनाले', 'मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ', र 'रातो भाले क्वाँए क्वाँए' जस्ता राष्ट्रिय तथा लोकगीतहरू निकै लोकप्रिय छन्। उनका केही रचनाहरू विद्यालयका पाठ्यपुस्तकमा समेत समावेश छन्।
साहित्यकार रसिकले विभिन्न महत्वपूर्ण संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, र नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए।
उनका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको थियो। गणेश रसिकको निधनले नेपाली साहित्य र संगीत क्षेत्रमा ठूलो क्षति पुगेको छ।