ट्रम्पद्वारा स्टिल र आल्मुनियममा ५० प्रतिशतसम्म कर वृद्धि गर्ने सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
1.4k
Shares
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्तादेखि स्टिल र आल्मुनियमको आयातमा ५० प्रतिशतसम्म कर वृद्धि गर्ने घोषणा गरेका छन्। पेन्सिलभेनियास्थित अमेरिकी स्टिल प्लान्टका कर्मचारी तथा श्रमिकलाई सम्बोधन गर्दै ट्रम्पले 'यसलाई २५ प्रतिशतबाट ५० प्रतिशत बनाउन गइरहेको' बताएका हुन्।
उनले गत वर्षको चुनावमा विजय हासिल गर्न सहयोग पुर्याएको अमेरिकी राज्य पेन्सिलभेनियामा भेला भएका कार्यकर्तासामु 'कोही पनि यसको वरिपरि पुग्नेवाला छैन' भनेर दाबी गरे।
लगत्तै, राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै भनेका छन्, "बुधबार, जुन ४ देखि लागू हुने गरी नयाँ करसहित आल्मुनियममा पनि उच्च दर लागू हुनेछ।"
ट्रम्पको व्यापार नीति र अमेरिकी उद्योगको सुरक्षा
गत जनवरीमा राष्ट्रपतिमा पुनः ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले विश्व व्यापार व्यवस्थालाई झकझक्याउने र वित्तीय बजारलाई तहसनहस पार्ने गरी आफ्ना सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउँदै आएका छन्। उनले सवारी साधन (अटोमोबाइल्स) जस्ता वस्तुहरूलाई असर गर्ने क्षेत्र–विशिष्ट करहरू पनि जारी गरेका छन्।
शुक्रबार उनले आफ्नो व्यापार नीतिको बचाउ गर्दै करवृद्धिले अमेरिकी उद्योगको सुरक्षामा सहयोग गरेको तर्क दिए। उनले भने, "आफ्नो पहिलो प्रशासनको समयमा स्टिल र आल्मुनियमजस्ता धातुहरूको आयातमा पनि कर नलगाएको भए यो क्षेत्र अस्तित्वमा हुने थिएन।"
शुक्रबार ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीच योजनाबद्ध साझेदारीको पनि चर्चा गरे। यसअघि यो सम्झौताले द्विपक्षीय विरोधको सामना गर्नुपरेको थियो। ट्रम्पले हालै घोषणा गरिएको यस साझेदारीको बावजुद अमेरिकी स्टिललाई अमेरिकाले नै नियन्त्रण गर्ने बताए। उनले कम्पनीले कुनै पनि कामको लागि बाहिरी जनशक्तिलाई प्रोत्साहन नगर्ने पनि स्पष्ट पारे।
शुक्रबार अबेर वासिङ्टन फर्केपछि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले सम्झौतालाई अनुमोदन गर्न बाँकी रहेको बताए। उनले भने, "मैले निप्पोनसँगको अन्तिम सम्झौतालाई अनुमोदन गर्नुपर्ने छ तर त्यो अन्तिम सम्झौता अहिलेसम्म हात परेको छैन, तर उनीहरूले धेरै ठूलो प्रतिबद्धता जनाएका छन्।"
गत साता ट्रम्पले अमेरिकी स्टिलको मुख्यालय पिट्सबर्गमा रहने र निप्पोनसँगको सम्झौताले कम्तीमा ७० हजार रोजगारी सिर्जना हुने तथा अमेरिकी अर्थतन्त्रमा १४ अर्ब डलर थपिने बताएका थिए। पेन्सिलभेनियामा ट्रम्पले भनेका थिए, "आफ्नो प्रतिबद्धताको एक भागको रूपमा, निप्पोनले ‘मोन भ्याली वक्र्स–इरविन प्लान्ट’मा इस्पात उत्पादन बढाउन २.२ अर्ब डलर लगानी गर्नेछ। थप सात अर्ब डलर स्टिल मिलको आधुनिकीकरण, अयस्क खानी विस्तार र इन्डियाना र मिनेसोटालगायतका स्थानमा निर्माण सुविधाका लागि खर्च हुनेछ।"
निप्पोन स्टिललाई १४ अर्ब ९० करोड अमेरिकी डलरमा अमेरिकी स्टिल बिक्री गर्ने प्रस्तावको यसअघि दुवै पक्षबाट राजनीतिक विरोध भएको थियो। पूर्व राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा केही समयअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो सम्झौता रोकेका थिए। नयाँ साझेदारीलाई लिएर चिन्ता कायमै छ।
अमेरिकी स्टिल कारखानामा कार्यरत हजारौं प्रतिघण्टा कामदारको प्रतिनिधित्व गर्ने युनाइटेड स्टिलवर्कर्स युनियन (यूएसडब्लु) ले ट्रम्पको भाषणपछि निप्पोन स्टिल र ट्रम्प प्रशासनसँग सम्बन्धित छलफलमा भाग नलिएको र यस सम्बन्धमा 'आफूहरूसँग परामर्श नगरिएको' बताएको छ। यूएसडब्लुका अन्तर्राष्ट्रिय अध्यक्ष डेभिड म्याककलले सम्झौताको संरचना जस्तोसुकै भए पनि आफ्नो प्राथमिक चासो 'यूएस स्टीललाई विदेशी प्रतिस्पर्धीमा विलय गर्दा राष्ट्रिय सुरक्षा, हाम्रा सदस्यहरू र हामी बस्ने र काम गर्ने समुदायहरूमा पर्ने प्रभावसँग रहने' बताए।
निर्वाचन अभियानका क्रममा ट्रम्पले निप्पोन स्टिलको अधिग्रहण योजनाको विरोध गरेका थिए तर राष्ट्रपतिमा फर्किएपछि उनले आफू कुनै न कुनै प्रकारको लगानीका लागि खुला रहने सङ्केत दिएका थिए।