उही पुरानै कुरो । उही कृषिको कुरो । उही कृषि रणनीतिको कुरो । यस क्रममा यस पटक गइयो रामेछापको गोकुलगंगा गाउँपालिका । यस पालिकाको कुरो गर्दा देशकै ठूलो निजी किबी फार्मको कुरो छुटाउनुहुन्न । ६ सय रोपनीमा फैलिएको यस फार्ममा जबरजस्ती बसियो । बस्ने ठाउँ र फार्म हेर्दा विदेश नै लाग्ने ।
बीचमा दुई दिन धनगढी, झापा र विराटनगर पुगेर द्रुतगतिमा फेरि रामेछाप नै पुगियो । यस पटक चुचुरे भन्ने ठाउँमा गइयो । ठाउँ त स्वर्ग नै । अठार सय मिटरको उचाइ । सानो बजार । गौरीशंकर संरक्षण क्षेत्रको प्रवेशद्वार ।
सेतो कपाल देखेरै झण्डै तीन हजार ठटाएका । धन्न खडक मैनाली सरले नेपाली डाकसाब भनिदिएर जरिबाानाबाट बचियो । हुन त म जोगीसँग के को पैसा तिर्ने त उतैबाट हो ।
पुगियो चुचुरेको शिवालय । फेरि दोहोर्याउँ ठाउँ त स्वर्ग नै ।
जिरीलाई नेपालको स्वीटजरल्याण्ड भन्छन् तर मलाई स्वीटजरल्यान्डको पनि योङफ्राउयोख जस्तै लाग्यो । योङफ्राउयोख स्वीटजरल्यान्डको पनि सुन्दरमध्येको पनि सुन्दर स्थान मानिन्छ ।
चुचुरे पनि नेपालको योङफ्राउयोख नै रहेछ । राम्रो पनि अति नै राम्रो । चिसो छ । माथि हिमाल तर हिउँ छैन । छेउँमा खिम्ती नदी छ । कलकल, निलो । अझ हिमालबाट आएको नदी ।
न क्रसर उद्योग, न कुनै डन । सिधासादा मात्र गाउँमा । सफा नदी । छेउँमा करिब २५ सय रोपनीमा फैलिएको चरन क्षेत्र । बिस्याहार । अझ उक्त चरनले पालेका गाई आनुवांशिक केन्द्रका गौमाता हेर्दा त मनै अमिलो भएर आउने । भर्खर ओली सर सरुवा भएर गएका रहेछन् । ६ महिनापछि कथंकदाचित पुग्न पाइए उनको करामत देखिएला । अहिले त गाईको पेट हेर्दा देशमै नबसुँ लाग्ने ।
कस्ता थिए अघिल्ला हाकिम । दाना सबै मान्छेले नै हजाम पारेको भान पर्ने । घाँस छैन भनुँ भने दुईतिर गरी मात्र चार हजार रोपनी चरन । हाकिम साहेब अहिले जागिर छोडेर हिफरमा गएका छन् रे । यस्तै भए त त्यो हिफरका हिफरहरु पनि लामो समय टिक्दैनन् ।
अस्ति एयरपोर्टमा एकजना विदेशीले भने स्वर्ग जस्तो देशमा *र्क जस्ता नेता । तर मलाई त जिरी फार्म हेरेपछि अझ बिहान गाईको रोदनले निद्रा खुल्दा त स्वर्ग जस्तो ठाउँमा *र्क जस्तो व्यवस्थापन लाग्यो । यसो तलब लिँदा पनि हात काप्नुपर्ने हो । हाम्रो प्रशासन संयन्त्र यति गिरेछ कि मरेर घाट जानुपर्छ भन्ने तथ्य पनि हाकिमहरुले बिर्से ।
कति सराप्नु, छोडौँ ।
खिम्ति खोलातिरै फर्कौं । मन्थलीबाट चरिकोट जाने सडकमा पर्ने उही खिम्तीमा कमिलाको ताँती । हाइड्रोवालाले पानी सुकाएका भेटियो । खिम्ती जलविद्युतका हाकिम को होलान् । के खाँदा हुन् ? भातै त होला ।
मलाई नेपाल विद्युत प्राधिकरणका उतिबेला र यतिबेलाका कार्यकारी निर्देशकलाई सोध्न मन छ । ती खिम्तीका माछा कसका ससुरालीले कसकी पत्नीका नाममा दाइजो दिएका हुन् ? त्यहाँका गँगटा आदि इत्यादि जलचर कसैका पेवा हुन् ?
यदि होइनन् भने वातावरणमाथि किन यत्रो अन्याय । खोलै मारेर कति किलोवाट थप बिजुली निस्कन्छ ?
इन्जिनियर साहेबहरुलाई पर्यावरण भन्ने कुनै चिज छ भन्ने जानकारी त होला । जैविक विविधता भन्ने पनि कुनै चराको नाम त होला नि होइन ?
भो, कति सत्तोरसराप गर्नु ।
फेरि फर्कौं चुचेरे ।
वडा नं १ को कार्यालयमा ५० किसानसँग कस्तो रणनीति चाहिन्छ भनेर छलफल गर्दै थियौँ । ठ्याक्क पुगे पूर्णबहादुर तामाङ उर्फ कान्छाराम ।
भर्खर बर्खास्तीमा परेका मन्त्री । उनी चुचुरेका बासिन्दा रहेछन् । रामेछापका माननीय ।
उनी आएकै बेला बत्ती गएको थियो । मौकामा ठोकिहाले । बत्ती दिनेलाई पदमा बस्न दिए पो । अनि हुँदैन त लोडसेडिङ ?
मनको अमिलो पोखे ।
उपाध्यक्ष म्याडमलाई सास्ती । हो भनुँ भने सरकारको विरोध हुने, होइन भन्दा जिल्ला सभापतिको विपक्षमा उभिनुपर्ने । खै के भनेर टर्यो कुरो थाहा भएन । कान्छाराम रामेछाप कांग्रेसका सभापति रहेछन् ।
सेतो दाह्री कपाल देखेर मतिर दृष्टि दिए उनले । तपाईं को हो रे ?
हजुर माननीयज्यू, अमेरिकी विश्व विद्यालयको अनुदानमा नेपाली किसानको सिक्ने क्षमता विषयमा अनुसन्धान गर्दैछु, भनेँ ।
ए थेसिस लेख्दै हो, फेरि थपे माननीयज्यूले ।
होइन हजुर पोस्ट डक्टरल अनुसन्धान, पीएचडीभन्दा माथिको एक किसिमको छोटोमोटो जागिर हो हजुर, बिन्ती बिसाएँ ।
ए लु तपाईंहरुले बनाएको रणनीति एक कपी मलाई पनि दिनु है ।
‘हस् माननीयज्यू !’ मेरो उत्तर ।
‘अब यो बाटोसाटोमा पैसा हाल्ने होइन । धुलो जमेर ऊ हिमालमा हिउँ नै परेन’, पूर्वमन्त्रीले भने, ‘अब म सदनमा भन्नेवाला छु जति बढी छोराछोरी जन्मायो उति बढी भत्ता दिनुपर्छ । तीन जना जन्माउनेलाई १० लाख दिने । पाँच लाख बच्चाको लागि पाँच लाख आमाको लागि । यसो नगरी अब गाउँमा मान्छे सकिने भए । कमसेकम ३–४ सन्तानमध्ये कोही त गाउँमा बस्ला नि ।’
गाउँमा कोही पनि युवा नबसेपछि मलामी नै सहरबाट ल्याउनुपर्ने भो भन्ने उनको आशय थियो ।
कुरो खासै बेठीक लागेन । आखिर म पनि पुरुष न भएँ । सन्तान जन्माउने कष्ट देखे पनि भोग्नुपरेन ।
सायद पालिका उपाध्यक्षले हुन्न भन्नु भो कि जस्तो लाग्यो ।
माननीय, त्यसमा पनि गाउँकै माननीयलाई भेट्दा मानिस उत्साहित भए । खुशी हुँदाको हल्लाले उपाध्यक्षज्यूको कुरो सुन्न चाहिँ पाइएन तर अन्दाज के गरेँ भने अनि महिलामाथि चाहिँ अन्याय हुँदैन ? भन्ने प्रश्न उठ्यो कि ।
फेरि थपे माननीयज्यूले ।
१०–१२ वटा पत्नी बिहे गर्नुपर्छ । त्यो भएमात्र सन्तानले डाँडाकाँडा ढाक्छन् ।
हुन त उनले जिस्केरै भनेका होला । र हो पनि । तर गाउँ रित्तिएको देख्दा उनको भनाइमा दम देखियो । तर कुरो भने अमिल्दो ।
युवालाई गाउँमै रोजगारीको व्यवस्था गर्नुपर्यो नि भन्ने कुरो उठाए सहभागीले । एकछिन हलमा मानिसको हल्ला बढी भयो ।
कार्यक्रममा अवरोध सिर्जना भएको महसुस गर्दै भरे छिरौँला भनेर माननीय निस्किए ।
फेरि मेरो पालो आयो । मैले अस्तिका अनिश खड्काको कथा सुनाइ दिएँ । (लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)