काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ४ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिए।
अर्थमन्त्री पौडेलले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए। उनले बेरोजगारी समस्याको दिगो समाधानका लागि श्रम बजारको मागअनुसार युवा जनशक्तिको सीप र दक्षता विकास गरिनेमा जोड दिए।
अर्थमन्त्री पौडेलले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी पनि दिए। रोजगारीको खोजीमा रहेका सीपयुक्त युवाहरूको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने उनले बताए।