देशमा पश्चिमी र स्थानीय वायुका साथै जलवाष्पयुक्त हावाको प्रभाव, बदली र चट्याङसहित यी प्रदेशमा भारी वर्षा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
511
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ।
महाशाखाका अनुसार, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।