गणतन्त्र दिवसमा एमाले र राजावादी आमनेसामने, सुरक्षा व्यवस्था कडा
जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
880
Shares
काठमाडौँ । आज गणतन्त्र दिवसको दिन काठमाडौँमा दुई विपरीत समूहले प्रदर्शन गर्दैछन् । एकतर्फ गणतन्त्रवादी नेकपा (एमाले) र अर्कोतर्फ राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति। आज दुई फरक राजनीतिक विचारका समूहहरू एकै दिन प्रदर्शनमा उत्रिने भएकाले सुरक्षा चासो बढेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै समूहलाई छुट्टाछुट्टै समय र स्थान उपलब्ध गराएको छ। एमालेलाई भृकुटीमण्डपमा बिहान साढे १० बजेदेखि सवा २ बजेसम्म कार्यक्रम सक्न अनुरोध गरिएको छ। त्यसपछि शान्ति वाटिका क्षेत्रमा राजावादी समूहलाई प्रदर्शनका लागि समय दिइएको छ।
एमालेले आज गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदैछ। यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका थिए, जसले सुरक्षा व्यवस्थामाथि चासो बढाएको छ।
अर्कोतर्फ, राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित आजदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन्। गत चैत १५ मा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा व्यवस्था सबै तरिकाले कडा पारिएको बताएका छन्। उनले कानुनअनुसार भएका गतिविधिमा सहयोग गर्ने र कानुन नमान्नेलाई कारबाही गर्ने बताएका छन्।
नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले आजदेखि प्रदर्शन घोषणा गरेको हो। राजावादी समूहले देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शन निरन्तर चल्ने जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनका लागि कम्तिमा एक हप्ता काठमाडौंमै बसेर तयारी गर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। उनले सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुने र हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन्। प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहन आग्रह गर्दै आन्दोलनलाई हिंसात्मक बनाउन सरकार वा सरकारबाट सञ्चालित संयन्त्रहरू क्रियाशील हुनसक्ने भन्दै कार्यकर्ताहरूलाई सजग रहन निर्देशन दिएका छन्।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले आजको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ। आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा (एमाले)द्वारा आज काठमाडौँमा गरिने प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कताका विषयमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गरेको थियो।
छलफलका क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र सुरक्षा प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। आयोगले प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन गर्न विभिन्न टोलीहरू खटाउने पनि जनाएको छ।