arrow

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ - राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
ramchandra-basantasrawan.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन्। गणतन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्नका लागि राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने र यसका लागि शासकीय चरित्रलाई बदल्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने आवश्यकता औंल्याएका छन्। सन्देशमा उनले भनेका छन्, "हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु।"

उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश बन्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिए। "जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन," उनको भनाइ छ। नागरिकले सुशासनसहितको समृद्धि, रोजगारी, अवसर, स्रोतसाधनको न्यायोचित वितरण र सामाजिक न्यायको प्रबन्ध खोजेको र आर्थिक विकासबिना यी कुनै पनि सम्भव नभएकाले सबै गम्भीर भएर लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिए।

राष्ट्रपति पौडेलले उपलब्ध स्रोतको अधिकतम प्रयोग गरी नागरिकको जीवनस्तर बदले मात्रै आशा जागृत हुने उल्लेख गरे। उनले सन्देशमा भनेका छन्, "त्यसैले हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सक्छौँ। त्यसले मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्, हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो।"

गणतन्त्र केवल एक राजनीतिक व्यवस्था मात्र नभई आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताएका छन्। "यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ। गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौँ," उनले भनेका छन्, "आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ।"

राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको भन्दै यसलाई नेपालमा सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाइएको उल्लेख गरे। उनले यस व्यवस्थाले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको र देशवासीलाई जोडेको भन्दै एक साझा राष्ट्र बनाउने सङ्कल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको स्मरणसमेत गराए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ