arrow

भिजिट भिसाका हाँगा बिँगा खोज्न गगन थापाको आग्रह, लेखकबारे भन्छन्– वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
gagan-thapa-82-2-14y.jpg

धरान । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक दोषमुक्त रहेको विश्वास गरेका छन् । बुधबार धरान उपमहानगर कांग्रेस कार्यसमितिको दोस्रो नगर सम्मेलन तथा वनभोज कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका लेखकले आरोप लागेजस्तो कुनै त्यस्तो गरेजस्तो नै नलागेको बताए । 

उनले भने, ' माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो ।'
 
सँगसँगै महामन्त्री थापाले मन्त्री लेखकले अनुसन्धानलाई सघाउनु पर्ने बताए । उनले भने, 'अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने अनुसन्धानको दायरामा आएको व्यक्ति  पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल  बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ । हिजोका दिनमा मन्त्री अनुसन्धानको दायरामा आएको अवस्थामा हामीले जे भन्दै आएको हो प्रकरणमा पनि हाम्रो कुरा यही नै छ, हुनुपर्छ ।'

उनले भिजिट भिसा प्रकरणबारे भने, 'भिजिट भिसा प्रकरणमा अनुसन्धानमा कुनै अलमल नहोस्, यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ । यससँगै भिजिट भिसाको नाममा हुने गरेको ठगीको धन्दा र यसको नेक्सस सधैलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानूनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ ।' 

अख्तियारले नै यो जिम्मेवारी पूरा गर्नुपर्ने पनि उनले बताए । उनले भने, 'राज्यको जिम्मेवारीमा रहेका व्यक्तिबाट अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य काम हुन्छ भने त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ । त्यसैले हरेक वर्ष अनेकन विषयमा हजारौंको संख्यामा अधिकारीहरू माथि अनुसन्धान भैइरहेको हुन्छ तीमध्ये कसैलाई अभियोजन हुन्छ कसैलाई हुँदैन, यो नियमित प्रक्रिया हो । यो प्रक्रियामा सवैले सहयोग पुर्‍याउनुपर्छ ।'

थप दृष्टान्त सुनाउँदै नेता थापाले भने, 'वर्तमान सरकारकै पनि दर्जनौँ मन्त्रालयका सयौं अधिकारी माथि अहिले अनुसन्धान भै रहेको छ, जुन निकाय वा जो माथि अनुसन्धान भैइरहेको छ सम्बन्धित विषयसँग उनीहरु नै जोडिन्छ । अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने, अनुसन्धानको दायरामा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिंदै जान्छन् । त्यस्तो अवस्था नआउँदा वा नहुँदासम्म अनुसन्धानको दायरामा नपरेका प्रशासनिक वा राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्‍याउने विषय न त कानूनी हिसाबले उपयुक्त हुन्छ न त न्यायोचित नै हुन्छ । हिजोका दिनमा यस्तो अवस्थामा हामीले भन्दै आएको कुरा यही नै हो र यो भिजिट भिसा प्रकरणका सन्दर्भमा पनि कुरा यही नै हो ।'

उनले राज्यको जिम्मेवारीमा रहेका अधिकारी तथा निकायहरूबाट अख्तियारको दुरुपयोग गरी भिजिट भिसाका नाममा सयौँ नेपाली नागरिक ठगिएका, शोषणमा परेका सन्दर्भमा सार्वजनिक भइरहेका प्रकरणहरुले यो विषय कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने तथ्यले सबैलाई स्तब्ध बनाएकोसमेत बताए । 

उनले यो प्रकरणमा मुछिएका जो कोही पनि उम्कन नहुनेमा जोड दिँदै भने, 'नागरिक सुरक्षा र संरक्षणको जिम्मेवारी लिएका राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यी हर्कतहरू गैह्रकानूनी त छँदैछन्, अमानवीय पनि छन् । यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन ।'
 
अख्तियारले यस प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतको अनुसन्धान थालेको भन्दै नेता थापाले कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भीडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अगाडि बढाउनु पर्ने बताए । उनले भने, 'कुनै अलमलमा नपरिकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँसम्म पुगोस् यसका जरा, हाँगा बिंगा सबै खोज्नुपर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ