आयोगका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनता बढ्यो - अध्यक्ष मगर [भिडियो]
चालू आर्थिक वर्षको हालसम्म ५८ वटा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी दर्ता, १६४ फर्छ्यौट
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
610
Shares
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
मङ्गलबार आयोगको २५औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष मगरले आयोगको स्थापनाकालदेखि नै विभिन्न सिफारिस गर्दै आए पनि ती सिफारिसको कार्यान्वयन दर एकदमै न्यून रहेको बताए ।
उनले क्षतिपूर्तिका हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन नभएको गुनासो गरे। कारबाहीका लागि आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रश्रय पाएको उनको भनाइ छ।
"नेपाल सरकारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सिर्जना भएका दायित्वहरू कार्यान्वयन हुन सकेमात्र मानवअधिकारको उपयोगितामा सहजता आउँछ," उनले भने।
अध्यक्ष मगरले चालू आर्थिक वर्षको हालसम्म ५८ वटा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी दर्ता भएको र सो अवधिमा १६४ वटा उजुरीहरू फर्छ्यौट गरिएको जानकारी दिए।
उनले मुलुकले दायित्वहरू पूरा गरे नगरेको विषयमा निगरानी गर्ने तथा दायित्व बहन गराउनका लागि उत्तरदायी बनाउने जिम्मेवारी आयोगसँग रहेको स्पष्ट पारे।