रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने परीक्षण अब नेपालमै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
731
Shares
चितवन। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अब रक्त क्यान्सरको 'भेरियन्ट' (प्रकार) पत्ता लगाउन गरिने 'फ्लोसाइटोमेट्री' परीक्षण सेवा सुरु भएको छ। यसका लागि अस्पतालले आवश्यक उपकरण जडान गर्नुका साथै चिकित्सक र प्राविधिकहरूलाई तालिम पनि दिएको छ।
अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेले जानकारी दिएअनुसार, यो सेवा सुरु भएयता ९० जनाभन्दा बढीको परीक्षण भइसकेको छ। यसअघि यो परीक्षणका लागि बिरामीहरूले महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो। अस्पतालले यो सेवा सुरु गरेसँगै अब रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने भएको छ, जसले बिरामीहरूलाई ठूलो आर्थिक राहत मिलेको छ। बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो। नेपालमा वर्षैनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने यकिन तथ्याङ्क हालसम्म कुनै निकायसँग छैन।
डा. पाण्डेका अनुसार, 'फ्लोसाइटोमेट्री' रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो। उनले भने, "यो रक्त क्यान्सरको टाइप पत्ता लगाउन गरिने परीक्षण हो। ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ।"
यस परीक्षणका लागि एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो। उनीहरू तालिम लिएर फर्किएसँगै यहाँ परीक्षण सुरु गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन उपकरण जडान र जनशक्तिलाई तालिम प्रदान गरी सेवा विस्तार गर्दै लगिएको बताए। यो परीक्षण नेपालमै हुने भएपछि बिरामीहरू प्रत्यक्ष लाभान्वित भएका छन्। पछिल्लो समय क्यान्सर अस्पतालले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन उपकरण थप गर्ने र जनशक्तिलाई तालिम दिने कार्यलाई तीव्रता दिँदै आएको अस्पतालले जनाएको छ।