बैंकमा व्यापारीको लगानीले सप्रिने वा बिग्रने भन्ने हुँदैन - सांसद चौधरी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
916
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नेपालमा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने बहस चर्किएको बताएका छन्। सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा 'बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक' माथि सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो धारणा राखेका हुन्।
उनले विश्वको अर्थतन्त्र जुन रुपमा अघि बढेको छ, त्यतातिर नै ध्यान दिनुपर्नेमा जोड दिए। बैंकलाई अर्थतन्त्रको इन्जिन भएको र अर्थतन्त्र चलायमान गराउनु नै बैंकको काम भएको उनले स्पष्ट पारे। सांसद चौधरीले निजी क्षेत्रको पुँजी नभएका बैंकहरू सबैभन्दा बढी भ्रष्ट हुँदै गएको टिप्पणी गरे।
चौधरीले भने, "जुन ट्रेण्डमा विश्व गइरहेको छ, विश्वको अर्थतन्त्र गइरहेको छ, त्यो कन्टेस्टमा त्यतातिर जानका लागि र फराकिलो बनाउन भन्दा पनि एउटा बैंकर व्यवसायी बन्न हुन्छ कि हुँदैन भन्ने ठाउँमा मात्र पुगेको महसुस गरिरहेको छ। जुन सबैभन्दा बढी गर्नुपर्ने कुरा हो यो।"
उनले नेपालमा नयाँ उद्यमीहरू जन्माउन सरकारले विगत १० वर्षको अवधिमा ल्याएका कुनै पनि योजना सफल हुन नसकेको बताए। "आज हाम्रा साना, मझौला, माइक्रो त्यसको राइट मानिसहरूको हातमा गइरहेको छैन। एकातिर क्यापिटल फ्लो नहुने जति भइरहेको छ जाम भएर बसेको छ," उनले थपे, "योजना आयोगदेखि प्रधानमन्त्रीको कार्यालयसम्म अफिसहरू बसे। नेपाल राष्ट्र बैंकले एकपटक १० लाखदेखि ३० लाखसम्मको पुँजी दिएर नयाँ उद्यमी जन्माउने योजना ल्यायो। तर, त्यो पनि सजिलो बाटो खोजिनाले सफल हुन सकेन।"