चेपाङ बालबालिकाको शैक्षिक प्रगति: पहिलो वर्षमै पालिकाकै उत्कृष्ट विद्यालय
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
635
Shares
भरतपुर । चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाकै उत्कृष्ट विद्यालय बनेर चेपाङ समुदायका बालबालिकाको शैक्षिक प्रगतिमा ठूलो सफलता हासिल गरेको छ। चेपाङ बालबालिका मात्रै अध्ययनरत यस विद्यालयले कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमै यो उपलब्धि हात पारेको हो।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाका अनुसार, आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ बालबालिकाको पढाइमा सुधार आएको छ। यस वर्ष कक्षा ८ को परीक्षा दिएका १३ जना विद्यार्थीमध्ये एक जनाले 'प्लस', सात जनाले 'ए' र दुई जनाले 'बी प्लस' ग्रेड हासिल गरेका छन्। यो नतिजाले विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सहयोग गर्ने विभिन्न सङ्घसंस्थालाई निकै उत्साहित बनाएको थपलियाले बताए। उनले बिहान ४ बजेदेखि राति ९ बजेसम्म विद्यार्थीलाई अध्यापन गराइने र शिक्षकहरू पनि आवासीय रूपमै बस्ने गरेको जानकारी दिए।
राप्ती नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा विद्यालयले कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा ल्याएका छन्। नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले यो नतिजालाई नगरपालिकाले समेत सकारात्मक रूपमा लिएको बताइन्। उनले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको उल्लेख गरिन्।
चितवनको सबैभन्दा विकट मानिने कान्दा, जहाँ सवारीसाधन र बिजुली समेत पुगेको छैन, अहिले शिक्षाको क्षेत्रमा रूपान्तरण हुँदै गइरहेको स्थानीय सीता बहादुर चेपाङले बताए। उनले पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको र हरेक अभिभावकमा आफ्ना छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने धारणा विकास भएको उल्लेख गरे।
कान्दामा पुग्न अझै पनि दुई-तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा गएर पढ्नुपर्ने हुन्छ। गरिबीका कारण धेरै बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन्। यद्यपि, प्रधानाध्यापक थपलियाका अनुसार, पछिल्लो समय लक्ष्मी प्रतिष्ठानले कक्षा ८ उत्तीर्ण बालबालिकालाई काभ्रेमा सञ्चालित छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको छ।
वि.सं. २०७२ अगाडि कक्षा ३ सम्म मात्रै अध्यापन हुने यस विद्यालयमा वि.सं. २०६७ मा एकै घरका आठ जनाले विषालु च्याउ खाएर ज्यान गुमाएपछि विभिन्न सङ्घसंस्था र राज्यको ध्यान केन्द्रित भएको थियो। लक्ष्मी प्रतिष्ठानले छात्रावास सञ्चालन गरिदिएको र मितेरी फाउण्डेशनले दुई जना शिक्षकको व्यवस्था गरेपछि कक्षा ८ सम्मको पढाइ सम्भव भएको हो।
थपलियाले विभिन्न दाताको सहयोगमा कक्षा ८ सम्मको पढाइ भए पनि दरबन्दी अभावका कारण समस्या आएको बताए। निम्न माध्यमिक विद्यालयमा १० जना शिक्षकको दरबन्दी आवश्यक पर्नेमा अहिले सात जना मात्र शिक्षकको दरबन्दी रहेको उनको भनाइ छ। विद्यालयमा शौचालय र पुस्तकालयको अभाव रहेको भन्दै उनले राज्यले विकटको विद्यालयमा ध्यान दिनुपर्ने बताए।
पहिले ५० जना विद्यार्थी पनि नहुने यस विद्यालयमा अहिले १५० जना अध्ययनरत छन्। विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि स्रोतसाधनको आवश्यकता पनि बढेको थपलियाले बताए।