गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने एमालेको निर्णय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
740
Shares
काठमाडौँ । नेकपा (एमाले) ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवका रूपमा देशव्यापी मनाउने निर्णय गरेको छ। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका महासचिव शङ्कर पोख्रेलले जानकारी दिएअनुसार, बैठकले आम जनसमुदायलाई गणतन्त्र दिवसलाई उत्सवका रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको छ। यसका लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गरिने उनले बताए। काठमाडौँ उपत्यकाको हकमा भने सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रूपमा आयोजना गरिनेछ। यसको संयोजनको जिम्मा नेपाल जन सांस्कृतिक महासङ्घलाई दिइएको छ भने पार्टी कार्यालयले आवश्यक समन्वय गर्नेछ।
महासचिव पोख्रेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको बताउँदै त्यसलाई सबल र सुदृढ बनाउने कुरामा एमालेले जोड दिएको जिकिर गरे। उनले जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनै पनि गतिविधिहरू एमालेलाई स्वीकार्य नहुने चेतावनी दिए। गणतन्त्र जनताको सार्वभौम शासन व्यवस्था भएको र त्यसलाई अझै सबल र सुदृढ बनाउने पार्टीको निष्कर्ष रहेको उनले दोहोर्याए।
पोख्रेलका अनुसार, एमालेको ध्यान जनताको अधिकारको रक्षा, उपलब्धिहरूको संरक्षण र गणतन्त्र स्थापनालाई जनताको उत्सवको रूपमा मनाउने विषयमा केन्द्रित छ।